विश्व शान्तिका लागि संवादमा जोड दिन प्रधानमन्त्री प्रचण्डको आग्रह
काठमाण्डू, २०८० माघ १२ गते शुक्रबार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व शान्तिका लागि द्वन्द्वरत पक्षबीच संवाद हुनुपर्नेमा जोड दिनुभएको छ । संयुक्त राष्ट्र सङ्घको निःशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटका क्रममा उहाँले नेपाल सदैव विश्व शान्तिको पक्षमा रहेको बताउनुभयो ।
निःशस्त्रीककरण मामिलासम्बन्धी संयुक्त राष्ट्र सङ्घको निकाय युएनओडिएका तर्फबाट उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएकी मिस इजुमी नाकामित्सुसहितको टोलीसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रियाको उदाहरणीय रहेको बताउनुभयो । उहाँले विश्व शान्तिका लागि संवाद मात्रै एकमात्र विकल्प भएकामा जोड दिनुभयो ।
“नेपालको ऐतिहासिक शान्ति प्रक्रिया विश्वका मुलुकका लागि उदाहरण बनेको छ”, उहाँले भन्नुभयो, “अहिले विश्वका कैयन् क्षेत्र अत्यन्तै संवेदनशील अवस्थामा छन् । रुस–युक्रेन युद्ध, इजरायल–हमास द्वन्द्वलगायत घटनाले विश्व शान्तिमा चुनौती थपेका छन् तर हामी वार्ता र संवादका माध्यमबाट समाधान खोज्नुपर्नेमा जोड दिन चाहन्छौँ ।”
प्रधानमन्त्री प्रचण्डले बुद्ध जन्मेको भूमि र शान्तिप्रिय देश नेपालले विश्वमा शान्ति स्थापनाका लागि विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा उल्लेख्य भूमिका खेल्दै आएको समेत स्मरण गराउनुभयो । उहाँले संयुक्त राष्ट्र सङ्घको महासभामा अति कम विकसित देशहरुको नेतृत्वकर्ताको हैसियतले खेलेको भूमिकाबारे समेत चर्चा गर्दै शान्ति स्थापनाका लागि संयुक्त राष्ट्र सङ्घका प्रयासमा सदैव साथ दिने र नेपालले विश्व शान्तिका लागि नेतृत्वदायी भूमिका खेल्ने बताउनुभयो ।
“विश्व शान्ति तथा निःशस्त्रीकरणका पक्षमा संयुक्त राष्ट्र सङ्घले खेलेको भूमिका प्रशंसनीय छ”, उहाँले भन्नुभयो, “हामी संयुक्त राष्ट्र सङ्घका हरेक कदममा साथ छौँ र भविष्यमा पनि साथ रहने प्रतिबद्धता व्यक्त गर्दछौँ ।”
छलफलमा इजुमी नाकामित्सुले निःशस्त्रीकरण मामिलाको दक्षिण एसियाली केन्द्रको कार्यालय नेपालमा स्थापना गरिएको र नेपाल दक्षिण एसियाली क्षेत्रमा शान्ति केन्द्र बन्ने अपेक्षा राखेको बताउनुभयो । “परमाणु हतियारले सुसज्जित छिमेकीका बीचमा नेपाल शान्ति केन्द्र बन्ने अपेक्षा राखेर केन्द्रको स्थापना गरिएको हो”, उहाँले भन्नुभयो, “नेपालले विगतमा झैँ क्षेत्रीय र वैश्विक शान्तिका पक्षमा आफ्नो भूमिका प्रभावकारी खेल्ने अपेक्षा रहेको छ ।”
सो अवसरमा इजुमीले शान्ति मिसनमा दोस्रो योगदानकर्ता राष्ट्रका रुपमा नेपालले खेलेको भूमिकाको समेत प्रशंसा गर्नुभयो । छलफलमा संयुक्त राष्ट्र सङ्घको नेपालस्थित आवासीय प्रतिनिधि हाना सिङ्गर, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रुपक सापकोटा, परराष्ट्र मन्त्रालयका अधिकारीलगायतको उपस्थिति थियो । रासस