Mon. May 11th, 2026

उत्तर कोरियाद्वारा ‘पानीमुनि हान्ने आणविक अस्त्र प्रणाली’ परीक्षण   

       

सियोल, २०८० माघ ५ गते शुक्रबार । उत्तर कोरियाले वासिङ्टन, सियोल र टोकियोको संयुक्त नौसैनिक अभ्यासको प्रत्युत्तरमा ‘पानीमुनि प्रहार गर्ने आणविक हतियार प्रणाली’ परीक्षण गरेको शुक्रबार जनाएको छ ।

संयुक्त अभ्यासले उत्तर कोरियाको सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको र त्यसको जवाफमा प्योङयाङले कोरियाको पूर्वी समुद्रमा निर्माणाधीन आफ्नो पानीमुनिको आणविक हतियार प्रणाली ‘हेल-५-२३’ को महत्वपूर्ण परीक्षण गरेको सरकारी समाचार संस्था केसीएनएले जनाएको छ ।

गत वर्षको सुरुमा प्योङयाङले ‘रेडियोधर्मी सुनामी’ निम्त्याउन सक्ने दाबी गर्दै पानीमुनि आणविक हमला गर्ने कैयौँ ड्रोनको परीक्षण गरेको बताएको थियो ।

विश्लेषकहरूले प्योङयाङसँग त्यस्तो हतियार छ कि छैन भनेर प्रश्न उठाएका छन् ।

यसै साताको सुरुमा दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानले दक्षिणी जेजु टापुको जलक्षेत्रमा संयुक्त नौसैनिक अभ्यास गरेका थिए ।

उक्त अभ्यासमा विमानवाहक युद्धपोत ‘युएसएस कार्ल भिन्सन’सहित तीन देशका नौ युद्धपोत सहभागी थिए । प्योङयाङको रक्षा मन्त्रालयका प्रवक्ताले शुक्रबार भन्नुभयो, “यो सैन्य अभ्यासले क्षेत्रीय स्थितिलाई थप अस्थिर बनाउने काम गरेको छ र यो उत्तर कोरियाको सुरक्षालाई गम्भीर खतरामा पार्ने कार्य हो ।”

उत्तर कोरियाले गरेको परीक्षणले ‘हाम्रो सेनाको पानीमुनि हान्नसक्ने आणविक हतियारमा आधारित प्रतिकारात्मक अवस्थालाई थप नजिक ल्याएको छ र यसले अमेरिका र उसका सहयोगीहरूको शत्रुतापूर्ण सैन्य युद्धाभ्यासलाई रोक्ने कायलार्ई जारी राख्नेछ,” प्रवक्ताले भने।

हालैका महिनाहरूमा दुई कोरियाबीचको लामो समयदेखि तनावपूर्ण रहँदै आएको सम्बन्धमा तीव्र गिरावट आएको छ, दुवै पक्षले तनाव कम गर्ने प्रमुख सम्झौताहरू खारेज गरेका छन्, सीमा सुरक्षालाई बढावा दिएका छन् र सीमामा प्रत्यक्ष आक्रमणका अभ्यासहरू सञ्चालन गरेका छन् ।

उत्तर कोरियाली नेता किम जोङ उनले गत साता दक्षिण कोरियालाई आफ्नो देशको ‘प्रमुख शत्रु’ घोषणा गर्नुभएको थियो भने पुनर्मिलन र पहुँचका लागि काम गर्ने निकायहरूलाई निष्क्रिय भएको घोषणा गर्नुभएको थियो । एएफपी

Facebook Comments