कोशी प्रदेशले स साना टुक्रे योजना ल्याउँदैन : मुख्यमन्त्री कार्की
पथरी (मोरङ), २०८० कात्तिक २६ गते आईतबार । मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशले रु २५ लाखभन्दा कमका विकास आयोजना नल्याउने जानकारी दिनुभएको छ । मोरङको पथरी शनिश्चरे-४ स्थित गणेश अम्बिका प्रतिष्ठानको सामुदायिक भवन शनिबार शिलान्यास गर्नुहँदै उहाँले प्रदेश सरकारले ठूला विकासका आयोजनामा मात्र ध्यान दिने छ भन्नुभयो । उहाँले भन्नुभयो “कम वजेटका आयोजना स्थानीय सरकार र ठूला आयोजना प्रदेश सरकारबाट सञ्चालनहुँदा छिटो आर्थिक समृद्धि हुन्छ । सङ्घबाट आएको टुक्रे योजनाका बजेट दुरुपयोग हुने गरेको छ । ”
समाजका लागि निःस्वार्थ उपलब्धिमूलक काम गरी परिणाम देखाउने काम गर्न मुख्यमन्त्री कार्कीले आग्रह गर्नुभएको छ । प्रदेश सरकार भौतिक विकाससँगसँगै मानवीय विकासको लक्ष्यमा लागेको जनाउँदै यस कार्यमा साथ दिन जनतासँग आग्रह गर्नुभएको छ ।
कार्यक्रममा पथरी शनिश्चरे नगरप्रमुख मोहनप्रसाद तुम्वापोले मनमोहन गान्धी मार्ग र पथरी डायनिया सडकखण्डले अझै पूर्णता नपाएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो “योजना अलपत्र भएका कारण जनताले सास्ती खेप्नुपरेको छ । जनताको स्वास्थ्यमा समस्या उत्पन्न गराएको छ । सर्वसाधारणले बर्खामा हिलो र हिउँदमा धुलोको समस्या खेप्दै आउनुपरेको छ ”
नगरप्रमुखले भारतको सिक्टीबाट सुनवर्षी नगरपालिका, पथरी शनिश्चरे हुँदै मिक्लाजुङ पाँचथर जोड्ने सडक निर्माणमा पनि चासो राखिदिन अनुरोध गर्नुभयो ।
कार्यक्रममा मोरङ क्षेत्र ३ (१)का प्रदेशसभा सदस्य मानबहादुर लिम्बू, प्रदेश सरकारका सहरी तथा भौतिक पूर्वाधार विकास मन्त्रालयका इन्जिनियर अजय श्रेष्ठसमेतको उपस्थिति थियो । गणेश अम्बिका प्रतिष्ठान अध्यक्ष पर्शुराम कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं ४ का वडाध्यक्ष लोककिरण न्यौपानेले वडाका गतिबिधिबारे जानकारी दिनुभएको थियो ।
सो भवन निर्माणका लागि सोही वडा निवासी गणेश भण्डारी र अम्बिका भण्डारी दम्पतीले आफ्नो दिवङ्गत छोराको सम्झानामा पाँच कठ्ठा जमिन दान गर्नुभएको छ । उक्त भवन जिपी बिल्डर्स कम्पनीले रु १ करोड ४४ लाख ६१ हजार १३ मा निर्माण सम्पन्न गर्ने सम्झौता गरेको छ । दुईतले भवनको विस्तृत आयोजना प्रतिवेदन रु सात करोडको तयार भएको थियो । रासस