प्रधानमन्त्री प्रचण्ड चितवनमा
चितवन, २०८० असोज २७ गते शनिबार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहजिल्ला चितवन आइपुग्नु भएको छ ।
भरतपुर महानगरपालिका प्रमुख एवं प्रधानमन्त्री पुत्री रेनु दाहालका अनुसार प्रधानमन्त्री प्रचण्डले चितवनमा रहँदा भोलि आइतबार तीनवटा खानेपानी आयोजनाको उद्घाटन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ चितवन बस्ने वा फर्किने टुङ्गो लागिनसकेको उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डले आइतबार शारदानगर, जखडिमाई र दिव्यनगर खानेपानी आयोजनाको उद्घाटन गर्नुहुनेछ ।
राससका अनुसार शारदानगरको सो आयोजना रु ५५ करोड हाराहारीमा निर्माण गरिएको हो । आयोजनाबाट चार हजार घरपरिवारलाई खानेपानी सुविधा हुनेछ । सङ्घीय खानेपानी तथा ढल आयोजना चितवनका प्रमुख सुन्दर सुवेदीका अनुसार भरतपुर वडा नं ११ को जखडिमाई खानेपानी आयोजनाले तीन हजार पाँच सय परिवारलाई खानेपानी सुविधा दिनेछ । यो आयोजना रु २५ करोडको लागतमा निर्माण गरिएको हो ।
यसैगरी, भरतपुर महानगरपालिका-२६ दिव्यनगरको खानेपानी आयोजना रु १० करोडको लागतमा निर्माण गरिएको हो । यो आयोजनाबाट एक हजार सात सय परिवार लाभान्वित हुनेछन् ।