Sat. Nov 23rd, 2024

प्रधानमन्त्री मोदीको हातमा ग्रेटर नेपालको नक्सा !

काठमाण्डू, २०८० साउन ३ गते बुधबार । ग्रेटर नेपाललाई व्यापक र विस्तृत गर्ने भूमिका पटक-पटक निर्वाह गरेकोमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले इन्डियाली प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीलाई धन्यवाद दिएको छ । सन् १९४७ जुलाई १८ तारिखमा संयुक्त अधिराज्य ग्रेट ब्रिटेनको संसद्ले पारित गरेको Indian Independence Act को ७७ औँ वर्ष प्रवेशको अवसर पारेर एक पत्र पठाउँदै मोर्चाले मोदीलाई धन्यवाद ज्ञापन गरेको हो । धन्यवाद पत्रसँगै मोदीलाई ग्रेटर नेपालको नक्सा पनि पठाएको मोर्चाले जनाएको छ । पत्रमा मोदीलाई धन्यवाद दिइएको मात्र होइन ग्रेटर नेपालको जमिन फिर्ता गर्न पनि माग गरिएको छ ।

गत मे महिनाको २८ तारिखमा इन्डियाको नवनिर्मित संसद् भवनमा अखण्ड भारतको राजनीतिक नक्सा राखेको प्रतिक्रियास्वरूप नेपालमा ग्रेटर नेपालको नक्सा राखिएको हो भन्दै मोर्चाले ग्रेटर नेपालको नक्सा अखण्ड भारतको नक्साविरुद्धको प्रतिक्रियामात्र होइन, इन्डियाको ज्यादतीविरुद्धको नैतिक लडाइँ पनि हो भनेको छ । मोर्चाले मोदीलाई पठाएको पत्रमा अगाडि भनिएको छ, `अखण्ड भारत कति प्रतिशत यथार्थ हो , छलफलको विषय हुनसक्छ तर ग्रेटर नेपाल शत प्रतिशत यथार्थ हो ।’

मोर्चाले २०१९ को नोभेम्बर २ मा नेपालको कालापानी क्षेत्रलाई इन्डियाको राजनीतिक नक्सामा राखेर गरेको गल्ती नसच्याएर सबै नेपालीहरूमा कालापानीमात्र होइन अब नालापानी पनि चाहिन्छ भन्ने राष्ट्रवादी भावनाको विस्तार गर्न सहयोगी भूमिका खेलेको र गत मे महिनाको २८ तारिखमा त्यहाँको संसद् भवनमा अखण्ड भारतको नक्सा राखेर नेपालमा ग्रेटर नेपालको नक्सा राख्ने र यसलाई व्यापक रूपमा विस्तार गर्ने वातावरणको निर्माण गर्न ठूलो योगदान पुर्‍याएको भन्दै मोदीलाई धन्यवाद दिएको हो । नेपालीहरूलाई ग्रेटर नेपालको अवधारणामा सङ्गठित हुन लामो समय लाग्न सक्नेमा मोदीको यो कदमले त्यो समय आशातीत रूपमा छोटिएको छ भन्दै मोर्चाले नेपालीलाई घरघरमा ग्रेटर नेपालको नक्सा राख्न मोदीको उक्त कदमले उत्प्रेरित गरेको जनाएको छ ।
`अखण्ड भारतमा नेपालको भूमि समावेश गर्नुको कुनै ठोस आधार देखिँदैन तर ग्रेटर नेपालको नक्सामा इन्डियाली भूमि राखिएको छ भन्नु १९४७ जुलाई १८ को `इन्डियन इन्डिपेन्डेन्स एक्ट ‘ विरुद्धको ध्वम्सात्मक क्रियाकलाप हो’ भन्दै मोर्चाले अखण्ड भारतको काल्पनिक र भ्रामक नक्साबाट नेपाली भूभाग हटाई ग्रेटर नेपालको सिमाना टिस्टा-सतलज हो भन्ने वास्तविकता स्विकार्न इन्डियाली प्रधानमन्त्री मोदीलाई विशेष आग्रह गरेको छ ।

========================================

ब्रिटेनको संसदबाट `इन्डियन इन्डिपेन्डेन्स एक्ट’ पारित भएको ७७ वर्ष पुगेको अवसरमा ग्रेनेरामोद्वारा मोदीलाई ग्रेटर नेपालको नक्सासहित धन्यवाद पत्र पठाइयो
पत्रको पूर्ण पाठ
——————–

                                                                                                                                                 २०२३ जुलाई १८
श्रीमान् नरेन्द्र दामोदरदास मोदी
महामहिम प्रधानमन्त्री
इन्डिया

विषय: ग्रेटर नेपाललाई व्यापक र विस्तृत गर्ने भूमिका पटक-पटक खेल्नुभएकोमा धन्यवाद ज्ञापन

गत मे महिनाको २८ तारिखमा तपाईँले इन्डियाको नवनिर्मित संसद् भवनको उद्घाटन गरेपछि त्यहाँ राखिएको कथित अखण्ड भारतको भित्ते चित्रप्रति ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ । संयुक्त अधिराज्य ग्रेट ब्रिटेनको संसद्ले ७७ वर्षअघि सन् १९४७ जुलाई १८ मा Independence Act पारित गरेको सन्दर्भलाई समेत ध्यानमा राख्तै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा महामहिम प्रधानमन्त्रीसमक्ष आफ्ना माग, मान्यता र धारणा प्रस्तुत गर्दछ:

१. इन्डियाको संसद् भवनमा राखिएको अखण्ड भारतको भित्ते चित्र कुनै कलाकारको अमूर्त पेन्टिङ होइन , जसलाई बुझ्न नसकियोस् , बरु यो मानचित्र कुन कुन देश विरुद्ध लक्ष्यित छ भन्ने कुरा त्यति दुर्बोध्य छैन ।

२. इन्डियाको संसद् भवन न कुनै मन्दिर हो न त कुनै सांस्कृतिक संस्थान । संसद् विशुद्ध राजनीतिक प्रतिष्ठान हो । राजनीतिक संस्थामा सम्राट् अशोकको साम्राज्यको राजनीतिक मानचित्र राखेर त्यसलाई सांस्कृतिक नक्सा भन्नु झूट सिबाय अरू केही होइन । संसद् भवनको उद्घाटनपछि भारतीय जनता पार्टीका नेताहरूले अखण्ड भारतको नक्सालाई यो इन्डियालीहरूका लागि `गाइड लाइन’ हो भन्ने घोषणा गर्नुले इन्डियाली सरकारमा विस्तारवादी मानसिकता रहेको देखाउँछ । तथाकथित अखण्ड भारतको नक्सामा नेपालका लुम्बिनी , कपिलबस्तु र विराटनगरलाई अङ्कित गर्नु अनि पाकिस्तान र बङ्गलादेशलगायतका भूभाग पनि समावेश गर्नु यसका ज्वलन्त उदाहरण हुन् ।

३. इन्डियाको संसद् भवनमा अखण्ड भारतको राजनीतिक नक्सा राखेको प्रतिक्रियास्वरूप नेपालमा ग्रेटर नेपालको नक्सा राख्नु `छोटी मुह बडी बात ‘ होइन, बरु यो `जस्तालाई त्यस्तै’ हो । ग्रेटर नेपालको नक्सा अखण्ड भारतको नक्साविरुद्धको प्रतिक्रियामात्र होइन, इन्डियाको ज्यादतीविरुद्धको नैतिक लडाइँ पनि हो । अखण्ड भारत कति प्रतिशत यथार्थ हो , छलफलको विषय हुनसक्छ तर ग्रेटर नेपाल शत प्रतिशत यथार्थ हो ।

४. ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा इन्डियाको नवनिर्मित संसद् भवनमा अखण्ड भारतको नक्सा राखेकोमा त्यसको कडा विरोध र भर्त्सना गर्दागर्दै पनि ग्रेटर नेपाललाई व्यापक र विस्तृत गर्ने भूमिका पटक-पटक खेल्नुभएकोमा महामहिम प्रधानमन्त्रीप्रति सँगसँगै धन्यवाद पनि ज्ञापन गर्दछ । यहाँले २०१९ को नोभेम्बर २ मा नेपालको कालापानी क्षेत्रलाई इन्डियाको राजनीतिक नक्सामा राखेर गरेको गल्ती नसच्याएर सबै नेपालीहरूमा कालापानीमात्र होइन अब नालापानी पनि चाहिन्छ भन्ने राष्ट्रवादी भावनाको विस्तार गर्न सहयोगी भूमिका खेल्नुभएको थियो भने गत मे महिनाको २८ तारिखमा त्यहाँको संसद् भवनमा अखण्ड भारतको नक्सा राखेर नेपालमा ग्रेटर नेपालको नक्सा राख्ने र यसलाई व्यापक रूपमा विस्तार गर्ने वातावरणको निर्माण गर्न ठूलो योगदान पुर्‍याउनुभएको छ । नेपालीहरूलाई ग्रेटर नेपालको अवधारणामा सङ्गठित हुन लामो समय लाग्न सक्नेमा यहाँको यो कदमले त्यो समय आशातीत रूपमा छोटिएको छ । नेपालीलाई घरघरमा ग्रेटर नेपालको नक्सा राख्न तपाईँको कदमले उत्प्रेरितमात्र गरेको छैन प्रत्येक नेपालीका ओठबाट ग्रेटर नेपालको गौरवपूर्ण वाणीसमेत ध्वनित भएको छ । यदि तपाईँले अखण्ड भारतको नक्साको मञ्चन नगर्नुभएको भए हामी नेपालीहरू यो स्वर्णिम अवसरबाट तत्काललाई वञ्चित हुने थियौँ ।

५. अखण्ड भारतमा नेपालको भूमि समावेश गर्नुको कुनै ठोस आधार देखिँदैन तर ग्रेटर नेपालको नक्सामा इन्डियाली भूमि राखिएको छ भन्नु १९४७ जुलाई १८ को `इन्डियन इन्डिपेन्डेन्स एक्ट ‘ विरुद्धको ध्वम्सात्मक क्रियाकलाप हो । यतिमात्र होइन १९५० जुलाई ३१ को नेपाल-इन्डिया शान्ति तथा मैत्री सन्धिका धारा १ र ८ तथा १९५० अक्टोबर ३० को नेपाल-ब्रिटेन सन्धिको प्रस्तावना र धारा ८ ले सुगौली सन्धिलाई रद्द गरेको सत्यलाई समेत लत्याउनु हो ।

महामहिम प्रधानमन्त्रीज्यू,
तसर्थ अखण्ड भारतको काल्पनिक र भ्रामक नक्साबाट नेपाली भूभाग हटाई ग्रेटर नेपालको सिमाना टिस्टा-सतलज हो भन्ने वास्तविकता स्विकार्न ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा विशेष आग्रह गर्दछ ।

फणीन्द्र नेपाल
अध्यक्ष
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा
काठमाडौँ, नेपाल

बोधार्थ :
– सार्क महासचिव लगायत सार्क राष्ट्रहरू, चीन र ब्रिटेन ।

Facebook Comments