राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल
२०७९ चैत १३ गते सोमबार । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री स्वर्गीय नविन्द्रराज जोशीको दोस्रो स्मृति दिवसका अवसरमा काठमाण्डू महानगरपालिका-१९ यट्खा कुमारी मन्दिर परिसरमा निर्माण गरिएको जोशीको अर्धकदको प्रतिमा अनावरण कार्यक्रममा बोल्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । राष्ट्रपति पौडेलले राजनीति जनतासँगको निरन्तर सानिध्यतासँगै उनीहरुको सुख, दुःख बुझेर जनताकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिवद्धता र समर्पणबाट अभिप्रेरित हुनुपर्नेमा जोड दिनुभयो ।
“जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरुको सुख, दुःख बुझ्ने जोशी समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत व्यक्तित्व हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो । राष्ट्रपति पौडेलले जोशीको असामयिक निधन मुलुक, नेपालको प्रजातान्त्रिक आन्दोलन, एउटा सिद्धान्तनिष्ठ राजनीतिक सङ्गठन, जोशी परिवार र आफ्नो लागि अपूरणीय क्षति भएको बताउनुभयो ।
उहाँले जोशीको निष्ठा, प्रगतिशील दृष्टिकोण र सही कुराको पक्षमा दृढ रहने अडानका कारण होनहार नेताका रुपमा स्थापित हुनुका साथै सरल, शालिन, मिलनसार, सहयोगी र कुशल राजनीतिज्ञको छवि बनाउन सफल हुनुभएको चर्चा गर्नुभयो । राष्ट्रपति पौडेलले विभिन्न ओहोदा, पद र संस्थामा रहँदा आफ्नो चरित्रमा कतै दाग लाग्न नदिनुका साथै सदाचारिता र इमान्दारिता नै जोशीको विशेषता भएको बताउनुभयो । राष्ट्रपति पौडेलले योग्यता, आचरणशील र इमान्दारी यी तीनै कुराको बराबरी सङ्गम रहेका विरलै मानिसमध्ये जोशी अब्बल दर्जाको भएकाे बताउनुभयो ।
“मैले नविन्द्रलाई सन्निकटमा रहेर चिन्ने र बुझ्ने मात्र होइन आफूले सुझाव, साथ र सहयोग गरेर एउटा जागरुक, उत्साही र कर्मठ व्यक्तित्व निर्माणमा सदैव उत्प्रेरित गर्ने अभिभावकका रुपमा जीवनपर्यन्त बाटो देखाउने मौका पाएँं”, उहाँले भन्नुभयो ।
राष्ट्रपति पौडेलले जोशीको शालिक निर्माणले उहाँले देश र जनताका लागि पुर्याउनुभएको योगदानलाई सदैव जीवन्त राख्ने तथा असल र इमान्दार एउटा राजनीतिज्ञको व्यक्तित्वबारे भावी पुस्तालाई जानकारी दिन तथा उनीहरुलाई सत्कार्य गर्न सँंधै प्रेरित गर्नेछ बताउनुभयो ।
कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले मुलुकमा परिवर्तन ल्याउन मूल्य, मान्यता र आदर्शको राजनीति गर्ने व्यक्ति जोशी भएको बताउनुभयो । “विस २०१७ सालमा गुमेको अधिकार पुर्नप्राप्तीका लागि नेविसङ्घमार्फत सङ्घर्ष गर्ने व्यक्ति नविन्द्र हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो ।
जोशीकी पत्नी एवम् सांसद सपना राजभण्डारीले जोशीले लिनुभएको राजनीतिक लक्ष्य पूरा गर्न आफू लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रतिमा निर्माणले जोशीलाई जीवन्त राख्ने उहाँको भनाइ थियो ।
सोही अवसरमा राष्ट्रपति पौडेलले विस २०४६ सालको जनआन्दोलनका शहीद निर्गुण स्थापितको शालिकमा समेत माल्यार्पण गर्नुभयो । विस २०१९ पुस २२ गते काठमाडौँमा जन्मनुभएका जोशीको विस २०७७ चैत १३ गते निधन भएको थियो । उहाँ संविधानसभा सदस्य, उद्योगमन्त्री, काठमाण्डू महानगरपालिकाका उपप्रमुख, गणेशमान सिंह अध्ययन प्रतिष्ठानका संस्थापक अध्यक्षलगायत विभिन्न सामाजिक संस्थामा संलग्न हुनुहुन्थ्यो । रासस