२०८३ भाद्र १७, बुधवार

भोटेकोशी बाढीमा खोजी, उद्धार र उपचारलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री शाह

प्रम शाह- सम्बोधन काठमाडौँ, १७ भदौः प्रधानमन्त्री वालेन्द्र शाह सिंहदरबारस्थित सङ्घीय संसदमा बुधबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्नुहुँदै । तस्बिरः गोपाल दाहाल/रासस

       

भिओके/समाचार काठमाण्डू । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले सबै निकायसँगको समन्वयमा खोजी, उद्धार, उपचार तथा राहत व्यवस्थापनको काम तीव्र बनाएको बताउनुभएको छ । उहाँले विपद्को समयमा सरकारलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट नभएको उल्लेख गर्दै सङ्कटको घडीमा जनतालाई हिम्मत, आड र भरोसा दिन सरकार अहोरात्र खटिरहेको बताउनुभयो ।

खोजी, उद्धार र उपचारमा तीव्रता

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढी आएलगत्तै नेपाली सेनाको ‘ज्वाइन्ट अपरेसन कमिटी’, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ‘क्विक एक्सन टिम’ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘र्‍यापिड एक्सन टिम’मार्फत सूचना सङ्कलन, समन्वय र अनुगमन सुरु गरिएको जानकारी दिनुभयो ।

प्रभावित क्षेत्रमा खोजी तथा उद्धारसँगै घाइतेलाई काठमाडौँ ल्याएर उपचारको व्यवस्था गरिएको उहाँले बताउनुभयो । “राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालमा १०० बेड छुट्यायौँ । अन्य सबै ठूला अस्पतालहरूलाई तयारी अवस्थामा राख्यौँ”, उहाँले भन्नुभयो ।

सरकारसँगै नेपाल स्काउट, विश्व स्वास्थ्य सङ्गठन, नेपाल रेडक्रस लगायतको सहकार्यमा मेडिकल टिम प्रभावित क्षेत्रमा खटाइएको उहाँले जानकारी दिनुभयो । आपत्कालीन स्वास्थ्य सेवा, औषधि र रगतको अभाव हुन नदिन रक्तसञ्चार सेवा केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी तथा लायन्स क्लब लगायतसँग समन्वय गरिएको उहाँले बताउनुभयो ।

घटनालगत्तै राज्यका संयन्त्र परिचालन

बाढी आएको दिन भदौ १० गते दिउँसो ३ बजे नै सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाको टोली स्थलमार्ग हुँदै प्रभावित क्षेत्रतर्फ गएको र त्यसयता राज्यका सम्पूर्ण संयन्त्रमार्फत प्रभावित क्षेत्रको अवस्थाबारे निरन्तर जानकारी लिइएको प्रधानमन्त्री शाहले बताउनुभयो ।

घटनाको भोलिपल्ट बिहानै पूर्वाधार विकास मन्त्रीसहितको टोली लिएर आफू पनि स्थलमार्ग हुँदै प्रभावित क्षेत्रमा पुग्नुभएको उहाँले जानकारी दिनुभयो । प्रभावित क्षेत्रबाट फर्केलगत्तै मन्त्रिपरिषद्का सदस्यहरूसँग आपत्कालीन छलफल गरी रसुवा र नुवाकोटका लागि रु एक-एक करोड तथा धादिङका लागि रु ५० लाख निकासा गरिएको उहाँले बताउनुभयो ।

घटना भएको दिन मध्यरातमै आठ ट्रक राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको र त्यसै दिन रातिसम्म मोबाइल फोन प्रयोगकर्ताका लागि भ्वाइस, डेटा तथा एसएमएस सेवा निःशुल्क गरिएको उहाँले जानकारी दिनुभयो । काठमाडौँमा रहेको थप १० ट्रक राहत सामग्री प्रभावित क्षेत्रमा पठाउनुका साथै विपद् व्यवस्थापनमा प्रयोग हुने फिल्ड अस्पतालसमेत त्रिशूली पठाइएको उहाँले बताउनुभयो ।

१३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

प्रधानमन्त्री शाहका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका गरी १३ हजार २९५ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन भएका थिए । ६९ उडानमार्फत ३५१ जनाको उद्धार गरिएको थियो । उद्धारका क्रममा गम्भीर घाइते, गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो ।

प्रभावित तीन हजार ५०० जनालाई तत्काल बसोबास गराउन विद्यालय तथा सार्वजनिक सामुदायिक भवनमा व्यवस्थापनको तयारी गरिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपत्कालीन गोदाम, नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिल ब्यारेक र धादिङको बैरेनी ब्यारेकमा राहत सामग्री पठाएर प्राथमिकताका आधारमा प्रभावित क्षेत्रमा वितरण गर्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार केहीबेर अघिसम्म ११ हजार ९९३ जनाको उद्धार भइसकेको थियो भने तीन हजार ९१६ जना अझै सम्पर्कविहीन थिए । उद्धार गरी विभिन्न अस्पतालमा भर्ना गरिएका २९२ घाइतेमध्ये १८२ जना उपचारपछि घर फर्किसकेका छन् ।

स्वास्थ्य र मनोपरामर्शमा पनि ध्यान

काठमाडौँबाट विशेषज्ञसहितको टोली प्रभावित क्षेत्रमा उपचारका लागि खटाइएको र प्रभावित नागरिकलाई मनोपरामर्श सेवासमेत उपलब्ध गराइएको प्रधानमन्त्री शाहले बताउनुभयो । महामारी फैलिन नदिन विभिन्न अभियान सञ्चालन गरिएको तथा रोगको रोकथामका लागि सूचना प्रवाह भइरहेको उहाँले जानकारी दिनुभयो ।

‘विपद्-पश्चात् सरुवा रोग निगरानी तथा प्रतिकार्य योजना’ प्रभावकारी रूपमा लागू गर्न प्रदेश तथा स्थानीय तहका स्वास्थ्य अधिकारीलाई आवश्यक तालिमसमेत प्रदान गरिएको उहाँले बताउनुभयो ।

कृष्णभिर सडक यही महिनाभित्र सञ्चालनमा आउने

प्रधानमन्त्री शाहले पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-नौबिसे खण्डको कृष्णभिरमा पहिरोका कारण अवरुद्ध सडक यही महिनाभित्र सञ्चालनमा ल्याइने बताउनुभयो ।

त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि कृष्णभिरमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । सडक सञ्चालनमा ल्याउन महिनौँ लाग्नसक्ने चर्चा भइरहेका बेला प्रधानमन्त्री शाहले पहिरो पन्छाएर सडक पुनर्निर्माण गरी यही महिनाभित्र सञ्चालनमा ल्याउने जानकारी दिनुभएको हो ।

‘सरकारलाई विश्राम लिने छुट छैन’

प्रधानमन्त्री शाहले सङ्कटको घडीमा देशको नेतृत्वले आँसु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्ने बताउनुभयो । मन भक्कानिए पनि एकआपसमा बिलौना गर्ने समय नभएकाले सरकार अहोरात्र खटिरहेको उहाँले उल्लेख गर्नुभयो ।

“सोही दृढ सङ्कल्प र साहसका साथ यो विपत्तिसँग लड्नुको हामीसँग अर्को विकल्प थिएन र छैन । हामी लडिरहेका छौँ”, उहाँले भन्नुभयो ।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले धेरै नागरिकको ज्यान गएको र धेरै सम्पर्कविहीन भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभयो ।

“यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिङ्गो नेपालको छातीमा परेको साझा बज्रपात हो । बाढीमा परेका नागरिकको कारुणिक चित्कार सुन्दा मेरो छाती चिसो हुन्छ”, उहाँले भन्नुभयो ।

विदेशी नागरिकको खोजी, उद्धार तथा कन्सुलर सहयोगका लागि आपत्कालीन प्रतिकार्य टोली गठन गरिएको तथा प्रभावित जिल्लामा कार्यरत कर्मचारीलाई कार्यस्थल नछाड्न निर्देशन दिइएको प्रधानमन्त्री शाहले जानकारी दिनुभयो ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न सार्वजनिक आह्वान गरिएको तथा मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको पारिश्रमिक प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

Facebook Comments