पाशुपत क्षेत्रमा महाशिवरात्रीको चहल पहल सुरु
रमेश हतुवाली/ काठमाण्डू, २०७९ फागुन ४ गते बिहीबार । पाशुपत क्षेत्रमा महाशिवरात्रीको चहल पहल सुरु भएको छ । प्रत्येक वर्ष फागुण कृष्ण चतुर्दशीका दिन पशुपतिनाथमा विभिन्न धार्मिक अनुष्ठानहरुको आयोजना गरी महाशिवरात्री पर्व आस्था र भक्तिपूर्वक मनाउने प्रचलन रहँदै आएको छ ।
यस वर्ष यहि फागुन ६ गते शनिबार पर्ने महाशिवरात्री पर्वलाई लक्षित गरी पशुपति क्षेत्र विकास कोषले पाशुपत क्षेत्रका मठमन्दिरहरुमा रंग रोगन गर्ने कामलाई अन्तिम चरणमा पुर्याएको छ । पशुहरुका समेत पति अर्थात स्वामी मानिएका भगवान पशुपतिनाथ विश्व भरिकै हिन्दू धर्मावलम्विहरुका आस्था र विश्वासका देवाधिदेव समेत मानिनुहुन्छ ।
सामान्य आराधना र स्तुतिबाटै छिट्टै प्रसन्न हुने स्वभावका भगवान् शिवलाई यो दिन प्रसन्न राख्दा इहलोक र परलोक दुवैमा सुख र शान्ति हुन्छ भन्ने मान्यता पुस्तौंपुस्तादेखि रहँदै आएको छ । महाशिवरात्री पर्वमा आउने साधु बाबाहरु आकर्षणका केन्द्र मानिदै आएका छन् । पाशुपतक्षेत्रमा साधु बाबाहरुको चहलपहल बढेसँगै महाशिवरात्रीको आगमन भएको बुझ्न गाह्रो पर्दैन । अनेक भेषमा सजिएका साधु बाबाहरुको आगमन बढ्न थालेसँगै पाशुपत क्षेत्र यत्तिवेला शिवरात्रिमय भएको छ । महाशिवरात्रिमा थरीथरीका साधुहरुको विभिन्न लीला हेर्न रमितेहरुको पनि यत्तिवेला पाशुपत क्षेत्रमा लर्को लाग्न थालेको छ ।
भगवान आशुतोष अर्थात शिवको पूजा गरी मनाइने यस पर्वको मुख्य विशेषता भनेको काठमाडौंको पशुपतिनाथमा नागा बाबाहरु आउनु पनि हो । पाशुपत क्षेत्रका प्राय सबै धर्मशाला र पार्टीहरु यत्तिवेला साधुबाबाहरुको आगमनले भरिभराउ भएका छन् । फागुन कृष्ण एकादशीदेखि नागा बाबा पशुपति मन्दिरभित्र छिर्न पाउँने प्रावधान रहेको छ । फागुन कृष्ण औँशीका अर्थात महाशिवरात्रिका भोलिपल्टदेखि भने नागा बाबाहरु मन्दिरभित्र बस्न पाउँदैनन् । नागाबाबाहरु पशुपतिनाथ मन्दिर छिर्दा विभिन्न धार्मिक नियमहरु पालना गर्नुपर्ने प्रचलन रहँदै आएको छ । उनीहरुले पशुपतिनाथको मन्दिर छिर्नुअघि कपडा लगाएर छिर्नुपर्ने र निस्कँदा पनि कपडा लगाएरै निस्कनु पर्ने नियम रहेको छ । नागा बाबालाई सदियौंदेखि सनातन धर्मावलम्बीका सुरक्षा दस्ता मानिएको छ । उनीहरु भगावन शिवका प्रिय गण हुन् समेत भनिएकोले नागाबाबाहरुलाई महाशिवरात्रिमा विशेष श्रद्धा गर्ने गरिन्छ ।
हिन्दूहरूका प्रमुख देवता भगवान शिवको जन्मदिनका रूपमा मनाइने महाशिवरात्रि पर्वमा नेपालका विभिन्न स्थान र भारतबाट साधुसन्तहरू आउँने चलन हजारौं वर्षदेखिको हो । पशुपति क्षेत्र विकास कोषका अनुसार यस पर्वमा विशेषत नागा, नाथ, वैरागी, अघोरी र निरङ्कारी सम्प्रदायका साधुहरू आउने गर्दछन् । सामान्यतया महाशिवरात्रि पर्वमा ५ हजार जना भन्दा धेरै साधुसन्तहरु पाशुपत क्षेत्रमा आउने गर्दछन् । उनीहरूलाई पशुपतिक्षेत्रमै बसोबासको व्यवस्था मिलाइएको हुन्छ ।
पशुपति क्षेत्र विकास कोषका अनुसार महाशिवरात्रिमा आएका साधु सन्तलाई घण्ट, चमर, राडीपाखी, डमरु, पिताम्बर, शङ्ख जस्ता वस्तुहरु दिएर विदा गर्ने प्रचलन रहेको छ । त्यसैगरि उत्कृष्ट साधुलाई एकतारे, हारमोनियम र मनग्य दानदक्षिणा दिएर बिदाइ गर्ने समेत व्यवस्था मिलाईएको हुन्छ । काठमाण्डौको जाडो महाशिवरात्री पर्वमा आउने साधुसन्तहरुले आफु फर्कँदा सँगै लिएर जान्छन् भन्ने जनविश्वास समेत रहेको छ । हुन पनि महाशिवरात्रि पर्वपछि मंसिरदेखि चिसिएको काठमाण्डौं क्रमिक रुपमा न्यानो हुन्छ र यस पवित्र भूमिमा बसन्तले यत्रतत्र रंगिविरंगी वहार छर्न थाल्छ । अघोर अज्ञानका कालारात्रि र काला वादलहरु हटाएर ज्योर्तिरमय आशिस प्रदान गर्ने महाशिवरात्रि पर्व हामी नेपालीहरुको सबैभन्दा ठूलो धार्मिक तथा साँस्कृतिक पर्व हो । यसको संरक्षण र निरन्तरतामा तपाई हामी सबैको भूमिका महत्वपूर्ण छ ।