Wed. May 15th, 2024

ग्यास सिलिण्डर पड्किएर घाइते सांसद भण्डारीकी आमाको निधन

काठमाण्डू, २०७९ फागुन ४ गते बिहीबार । ग्यास सिलिण्डर पड्किएर घाइते नेपाली कांग्रेसका सांसद डाक्टर चन्द्रकान्त भण्डारीकी आमा हरिकला भण्डारीको उपचारकै क्रममा निधन भएको छ ।

कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर निजिना ताम्राकारले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज बिहान करिब १० बजेर ५७ मिनेटमा उहाँको निधन भएको हो । हिजो राति ग्यास पड्किएर नेता भण्डारीसहित उहाँकी ८६ वर्षीया आमा हरिकला घाइते हुनुभएको थियो ।

आमा हरिकलाको जीउको अधिकांश भाग गरी ७० प्रतिशतसम्म जलेको सो अस्पतालले जनाएको थियो । यस्तै नेता भण्डारीको दुवै हात र दुवै गोडा गरी शरीरका २५ देखि ३० प्रतिशतसम्म भाग जलेको चिकित्सकले बताएका छन् । भण्डारीलाई थप उपचारको लागि भारततर्फ लैजाने तयारी भैरहेको छ । रासस

Facebook Comments