सुदूरपश्चिमका मुख्यमन्त्री पदमुक्त
सुदूरपश्चिम, २०७९ माघ २६ गते बिहीबार । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आफूमाथि विश्वासको मत प्राप्त होस् भनी प्रदेशसभा बैठकमा राख्नुभएको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।
बैठकको प्रारम्भमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्दै रावलले प्रदेशको समृद्धिका लागि साझा सहमति र सहकार्यका आधारमा अगाडि बढ्न जरुरी रहेको बताउनुभयो । प्रस्ताव असफल भएपछि मुख्यमन्त्री रावलले आफूले संसदीय प्रक्रिया र मान्यतालाई सहर्ष स्वीकार गर्ने प्रतिक्रिया दिनुभयो । आजको बैठकमा सत्तापक्षीय नागरिक उन्मुक्ति पार्टी (नाउपा) का प्रदेशसभा सदस्य अनुपस्थित रहनुभएको थियो ।
नेकपा (एमाले) संसदीय दलका नेता रावल संविधानको धारा १६८ को (२) अनुसार एमाले नेकपा (माओवादी केन्द्र), नाउपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सदस्यको बहुुमत समर्थनमा गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँले आज विश्वासको मत लिइसक्नुपर्ने अन्तिम दिन थियो ।
त्रिपन्न सदस्यीय प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन । मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ । नेपालको संविधानअनुसार अब प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता मुख्यमन्त्री बन्ने प्रावधान छ । कांग्रेस संसदीय दलको नेता कमलबहादुर शाह हुनुहुन्छ ।
त्रिपन्न सदस्यीय प्रदेशसभामा कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का सभामुखबाहेक १०, एमालेका १०, नाउपाका सात, नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् । रासस