Fri. Nov 22nd, 2024

यु.एस.ए.आइ.डी.का प्रशासक र परराष्ट्रमन्त्री बीच भेटवार्ता

काठमाण्डू, २०७९ माघ २४ गते मंगलबार । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यु.एस.ए.आइ.डी)का प्रशासक सामन्था पावरले परराष्ट्रमन्त्री डाक्टर विमला राई पौड्यालसँग भेटवार्ता गर्नुभएको छ ।

परराष्ट मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल र संयुक्त राज्य अमेरिकाबीचको अभिरुचिका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटवार्तामा अमेरिकी सहयोग ‘मिलेनियम च्यालेन्ज कर्पाेरेसन’ (एमसीसी) कार्यान्वयन, जलवायु परिवर्तन, नेपाललाई अतिकम विकसित मुलुक (एलडीसी)बाट स्तरोन्नति गरिएपछि प्रदान गरिने सहयोग लगायतका विषयमा छलफल भएको थियो ।

भेटमा परराष्ट्रमन्त्री पौड्यालले अमेरिकी सरकारले नेपाललाई गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्नुभएको थियो भने प्रशासक पावरले अमेरिकी सरकारका तर्फबाट गरिने सहयोगमा थप वृद्धि गरिने प्रतिबद्धता जाहेर गर्नुभयो ।

राससका अनुसार दुई दिने नेपाल भ्रमणमा आउनुभएकी प्रशासक पावरले यु.एस.ए.आइ.डी को १९औँ प्रशासकका रूपमा सन् २०२१ को मे ३ तारिखमा पदभार ग्रहण गर्नुभएको हो । उहाँले विश्वका अग्रणी अन्तर्राष्ट्रिय विकास निकाय र यसअन्तर्गत विश्वभर रहेका १० हजारभन्दा धेरै कर्मचारीको नेतृत्व गर्दै आउनुभएको छ । उहाँ सन् २०१३ देखि २०१७ सम्म संयुक्त राष्ट्र सङ्घका लागि २८औँ अमेरिकी स्थायी प्रतिनिधिका रूपमा सेवारत हुनुहुन्थ्यो ।

प्रशासक पावर सन् २००९ देखि २०१३ सम्म अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्को कर्मचारी भई राष्ट्रपतिका विशेष सहायकका रूपमा र बहुपक्षीय मामिला तथा मानव अधिकारसम्बन्धी वरिष्ठ निर्देशकका रूपमा पनि कार्यरत हुनुहुन्थ्यो ।

Facebook Comments