Thu. Apr 25th, 2024

दैलेखमा पेट्रोल अन्वेषणका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय

काठमाण्डू, २०७९ माघ २४ गते मंगलबार । सरकारले पेट्रोलियम अन्वेषणका लागि दैलेखको भैरवी गाउँपालिका १ जलजलेमा रहेको जग्गा प्राप्त गर्न स्वीकृति दिएको छ ।

माघ २३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजानिक गर्न आज सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले पेट्रोलियम अन्वेषणका गर्न दैलेखको भैरवी गाउँपालिका १ जलजलेमा रहेको ४५ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेकोे जानकारी दिनुभयो ।

सञ्चारमन्त्री शर्माले बैठकले सफा हिमाल अभियान २०२३ मा खटिने नेपाली सेनाका सदस्यहरूलाई हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर छुट दिने, सम्पत्ति शुद्धिकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विद्येयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने लगायतका निर्णय गरेकोे बताउनुभयो ।

यस्तै मन्त्रिपरिषद् बैठकले रक्षामन्त्री हरिप्रसाद उप्रेतीको नेतृत्वमा फागुन १ गतेदेखि ५ गतेसम्म भारत भ्रमणका लागि स्वीकृति दिने, नागमति बाँध आयोजनाको कार्यान्वयन अघि बढाउन काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका १ मा रहेको करिब १४ रोपनी जग्गा प्राप्त गर्नका लागि स्वीकृति दिने समेत निर्णय गरेको छ ।

पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारबाट बहिर्गमनले सरकारलाई केही अफ्ठ्यारो पर्ने होकि भन्ने एक जिज्ञाशामा सरकारका प्रवक्ता शर्माले सरकार संकटमा नरहेको बताउनुभयो ।

मन्त्री शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिइसकेको र उच्च राजनीतिक संयन्त्रबीच छलफल भइरहेकाले यही सरकारलाई निरन्तरता दिइने स्पष्ट पनि पार्नुभयो ।

यस्तै सञ्चारकर्मीको कृषकहरूका समस्याको सम्बन्धमा राखेको जिज्ञाशामा मन्त्री शर्माले सरकार किसानको समस्याप्रति गम्भीर रहेको र मुलुकको आर्थिक समृद्धिका लागि कृषिमा परनिर्भरता अन्त्य गर्दै आत्मनिर्भरतर्फ उन्मुख हुँदै निर्यात गर्न सक्ने अवस्थामा देशलाई पुर्‍याउन सरकारले काम गर्ने बताउनुभयो ।

Facebook Comments