Tue. Apr 30th, 2024

आज पेलेको अन्तिम संस्कार गरिंदै, श्रद्धाञ्जली दिन हजारौं भीड

साओपाउलो, २०७९ पुस १९ गते मंगलबार । विश्व फुटबलका महान खेलाडी पेलेको आज अन्तिम संस्कार गरिंदै छ । अन्तिम संस्कार अघि उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि ब्राजिलको साओपाउलोस्थित सान्तोस क्लबको रंगशालामा राखिएको छ ।

उहाँको निधन गत बिहीबार ८२ वर्षको उमेरमा अल्बर्ट आइन्सटाइन अस्पतालमा उपचारको क्रममा भएको थियो । सो अस्पतालबाट पेलेको पार्थिव शरीरलाई सान्तोस क्लबको रंगशालामा लगिएको थियो । उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नेहरुको लामो लाइन लागेको छ । उहाँका प्रशंसकहरु दुई घण्टा भन्दा बढी समयसम्म लाइनमा बसेर श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

पेलेले दुई दशकभन्दा बढी सान्तोस क्लबबाट व्यावसायिक फुटबल खेल्नु भएको थियो, भने ब्राजिललाई तीन पटक विश्वकप जिताउनु भएको थियो ।

यस्तै फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले पनि पेलेप्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको छ । श्रद्धाञ्जली अर्पणपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै उहाँले फिफाले पेलेलाई उच्च सम्मान गर्ने बताउनु भयो । साथै उहाँले फिफाका सदस्य राष्ट्रहरुलाई कम्तिमा एउटा रंगशालाको नाम पेलेको नामबाट राख्न आग्रह गर्नु भएको छ । पेलेको वास्तविक नाम एडसन अरान्ते दो नासिमेन्तो हो । २४ घन्टाको श्रद्धाञ्जली सभापछि पेलेको अन्तिम संस्कार गरिने छ । अन्तिम संस्कारमा ब्राजिलका राष्ट्रपति लुला डा. सिल्भाको पनि सहभागिता रहने समाचार एजेन्सीहरुले बताएका छन् । एजेन्सी

Facebook Comments