Wed. Nov 20th, 2024

सीके राउत भारी मतका साथ प्रतिनिधि सभा सदस्य निर्वाचित

सप्तरी, २०७९ मंसिर ८ गते बिहीबार । जनमत पार्टीका अध्यक्ष डा.सीके राउत भारी मतका साथ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

राउत सप्तरी निर्वाचन क्षेत्र नम्वर २ बाट आफ्ना निकतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै ३५ हजार ४२ मतका साथ निर्वाचित हुनु भएको हो । उपेन्द्र यादवले सो क्षेत्रबाट १६ हजार ९ सय ७९ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

निर्वाचन जिते लगत्तै समाजिक सञ्जाल फेसबुक मार्फत राउतले अमूल्य मत दिएर जिताउन सहयोग गर्ने मतदाता, शुभेच्छुक र सहयोगीलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । राउत कै शब्दमा धन्यवाद का बाँकि अंश :

जनमत पार्टी र मलाई यस निर्वाचनमा जिताउनका लागि को मात्रै लागेनन् ? यस क्रममा २० वर्षदेखि दर्शन नै नभएका आदरणीय गुरुहरू अगाडि आउनुभयो, ३० वर्षदेखि सम्पर्कमै नरहेका साथीहरू अकस्मात् देश विदेशबाट भेटन र खटिन आए, गाउँगाउँबाट किसान, मजदूर र युवाहरू आफ्नो काम र मजदूरी छोडेर सम्पर्क र निर्देशन बिना नै खटिए, बुद्धिजीवी र व्यापारी वर्गहरू सम्पर्कमा आएर हौसला दिए, सन्यासी र साधुहरू आशीर्वाद दिन आए, हामीलाई जिताउन कति जना यज्ञ, हवन र अष्टजाममा बसे, वैदेशिक रोजगारीमा गएकाहरू आफ्नो गुजाराको वास्ता नगरी सहयोग गर्न फर्किए, र हाम्रा समर्थक तथा कार्यकर्ताहरू भोको पेट भए पनि दिनरात एक गरी काम गरिरहे। कुनै पनि शब्दले यो आशीर्वाद, समर्थन र सहयोगलाई आभार व्यक्त गर्न सकिन्न, नतमस्तक छु। टलपलाएको आँखाले कोटिकोटि प्रणाम वाहेक के नै भन्न सक्छु र?

Facebook Comments