Mon. Apr 29th, 2024

सुनकोशी-मरिण डाइभर्सन आयोजनामा सुरुङ खन्न अटोमेटिक टनेल बोरिङ मेसिनको प्रयोग

भिओके समाचार/सिन्धुली, २०७९ असोज २८ गते शुक्रबार । बहुप्रतीक्षित राष्ट्रिय गौरवको सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनामा सुरुङ खन्ने काम द्रुतगतिमा थालिएको छ । सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. २ कुसुमटारस्थित परियोजनास्थलमा अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) बाट द्रुतगतिमा सुरुङ खन्न थालिएको हो ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालको नेतृत्वमा मन्त्रालयका सचिव सागरकुमार भण्डारी, जलस्रोत तथा सिंचाइ विभागका महानिर्देशक सुशिल चन्द्र तिवारीको उपस्थितिमा अत्याधुनिक अमेरिकन अटोमेटिक टनेल बोरिङ मेसिनद्वारा सुरुङ खन्ने काम सुरु गरिएको हो । गत बैशाखदेखि नै सुरुङ खन्ने काम गरिएको भए पनि टीबीएम मेसिनबाट भने आज शुक्रबारदेखि सुरुङ खन्न थालिएको हो ।

आयोजना स्थलको निरीक्षणपछि मन्त्री भुसालले सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाले राष्ट्रको समृद्धिको सपना पूरा गर्ने बताउनुभएको छ । उहाँले सञ्चारकर्मीसँग कुरा गर्दै आयोजना निर्माण सम्पन्न भएपछि खाद्यान्न उत्पादन बढ्ने बताउनु भयो । उहाँले भन्नुभयो “नेपालमा हाल साढे तीन खर्बको खाद्यान्न आयात हुन्छ, खाद्यान्न आयातमा विदेश जाने पैसा नेपालमा नै रहन्छ, त्यो पनि यहीँका किसानको हातमा पैसा बस्छ ।” मन्त्री भुसालले आयोजना निर्माणपछि स्थानीयस्तरमा नै रोजगार सिर्जना हुने, खाद्यान्नको नाममा विदेश जाने पैसा बचत हुने र नागरिकको आर्थिक अवस्थामा पनि सकारात्मक सुधार ल्याउने बताउनुभयो ।

सुनकोशीको पानी मरिनमा खसाली हालको बागमती सिँचाइ आयोजनाको संरचनामार्फत तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाको करिब १ लाख २२ हजार हेक्टर जमिनमा आयोजना मार्फत सिँचाइको सहज पहुँच पुर्याउन सकिने छ । साथै ३१.०७ मेगावाट क्षमताको जलविद्युत उत्पादन हुने छ ।

अनुसार ठेकेदार कम्पनी चाइना ओभरसिज कन्स्ट्रक्सन कम्पनी लिमिटेडले २४ महिनाभित्रै १३.३ किलोमिटरको सुरुङ खनिसक्ने गरी तालिका बनाएको छ । सुनकोशी गाउँपालिका वडा नं. ७ कानढुङग्रीस्थित सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदीमा डाइभर्सन संरचना निर्माण गरिने छ । सुनकोशी नदीको करीब ६७ क्यूविक पानी सुरुङमार्फत मरिण खोलामा पुर्याइनेछ । मरिणमा खसेको पानी ४० किलोमिटर तल वागमती नदीमा बाँधिएको बाँधमा पुगेर सिँचाइ नहरमा लगिनेछ ।

आयोजना प्रमुख मित्र बरालका अनुसार आउँदो २२ महिनामा १३.३ किलोमिटर सुरुङ खन्ने कार्यसम्पन्न हुने बताउनुभयो । सुरुङ खन्ने क्रममा भौगर्भिक रुपमा कुनै समस्या नआए समय तालिका भित्रै सुरुङ खन्ने काम सकिने उहाँको भनाइ छ ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७७ फागुन २० गते सो आयोजनाको शिलान्यास गर्नुभएको थियो । आयोजना सम्पन्न गर्न करिव करिब ४६ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

Facebook Comments