Sat. Apr 27th, 2024

बडादशैं आजबाट सुरु, घटस्थापनाको साइत बिहान १०:२३ बजे

- आज जमरे औंशी

भिओके समाचार, २०७९ असोज १० गते सोमबार । आजदेखि हिन्दू धर्मावलम्बी नेपालीहरुको महान पर्व बडादशैं सुरु भएको छ । बडादशैंको पहिलो दिन आज (सोमबार) घरघरमा कलश स्थापना गरी घटस्थापना गरिँदैछ । घटस्थापनासँगै आज घरघरमा जमरा राखिन्छ ।

प्रत्त्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने १० दिने दशैं आजदेखि सुरु भएको हो । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना भनिने र यसै दिनदेखि नवरात्र आरम्भ हुन्छ । यस दिन दियो, गणेश र कलशको पूजा गरी घटस्थापना गर्ने प्रचलन छ ।

यसका साथै नदी किनारको चोखो बालुवा ल्याएर जौ वा मकैको जमरा राख्ने चलन छ । यसरी राखिएको जमरा विजयादशमीका दिन रातो टीकासँगै देवीको प्रसादका रुपमा ग्रहण गर्ने गरिन्छ । घटस्थापनाको साइत बिहान १०:२३ बजे उत्तम रहेको बताईएको छ ।

देशभरका विभिन्न शक्तिपीठ र देवस्थलमाहरुमा आजदेखि पूजाअर्चना गर्दै नवरात्र मेला आरम्भ हुने गर्दछ ।

काठमाण्डौंमा नवरात्रभर गुह्येश्वरी, भद्रकाली, दक्षिणकाली, कालिकादेवी लगायतका शक्तिपीठहरूमा देवीको पूजाअर्चना गर्ने प्रचलन रहँदै आएको छ । राष्ट्रिय रूपमा हनुमानढोकामा जमरा राख्ने गरिन्छ ।

Facebook Comments