Sun. Apr 28th, 2024

उच्च अदालत बार पाटनको निर्वाचनमा शान्तिराम खतिवडा नेतृत्वको प्यानल नै विजयी

काठमाण्डौं, २०७९ असार २६ गते आईतबार । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिको निर्वाचनमा अध्यक्ष पदमा अधिवक्ता शान्तिराम खतिवडा विजयी हुनुभएको छ । उहाँ १ हजार ६६ मत ल्याएर विजयी हुनुभएको हो । शनिबार सम्पन्न निर्वाचनमा उहाँका प्रतिस्पर्धी अधिवक्ता रामकृष्ण शर्माले २ सय ७१ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपाध्यक्षमा रामचन्द्र न्यौपानेले १ हजार २३ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी नारायण खरेलले २ सय ८४ मत प्राप्त गर्नुभएको छ । सचिवमा रवीन्द्रकुमार ढुङ्गानाले १ हजार ४८ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी शंकर कुमार खड्काले २ सय ८३ मत प्राप्त गर्नुभएको छ । सहसचिवमा इन्दु कार्कीले १ हजार १ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी लक्ष्मी कक्षपतीले ३ सय ९ मत प्राप्त गर्नुभएको छ , कोषाध्यक्षमा मिलन श्रेष्ठ ९ सय ६४ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

त्यस्तै १४ सदस्यमा रमिता महर्जन, भवानी भट्टराई गैरे, ईश्वरप्रसाद पुडासैनी, ओमप्रकाश चौधरी, श्याम रोक्का, धर्मराज पौडेल, राजाराम घिमिरे, लावण्यराज कार्की, धनजित बस्नेत, शुलभ खनाल, सरिता आचार्य, राम कुमार खतिवडा, भावेश गौतम र सागर शर्मा विजयी हुनुभएको हो ।

देशका ९० वटा बार एकाइमध्ये सबैभन्दा बढी सदस्य सङ्ख्या २ हजार ८ सय २८ मतदाता पाटन बारमा रहेका छन् । उक्त बारमा दुई समूह प्रतिस्पर्धामा उत्रिएका थिए । प्रजातान्त्रिक समूहको प्रतिनिधित्व शर्माले गर्नुभएको थियो भने प्रगतिशील समूह शान्तिराम खतिवडाले गर्नुभएको थियो । प्रगतिशी समूहमा नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) निकट कानुन व्यवसायी थिए । उनीहरुलाई पीपीएलए र एपीएलए का नामले सम्बोधन गरिन्छ ।

नयाँ कार्यसमितिमा ५ जना पदाधिकारी र १४ सदस्य गरी १९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । शनिबार बेलुकी ५ बजेसम्म मतदान भएपश्चात मतगणना सुुरु भएको थियो । उक्त कार्यसमितिको समयावधि दुई वर्षको हुनेछ ।

Facebook Comments