Sun. Nov 24th, 2024

काठमाडौं महानगरपालिकाका प्रमुख, उपप्रमुखसहित १६० जना जनप्रतिनिधिद्वारा शपथ ग्रहण

नवनिर्वाचित प्रमुख बालेन्द्र साहलाई सोमबार राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको शपथ गराउँदै मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडा ।

काठमाण्डौं, २०७९ जेठ १६ गते सोमबार । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा आज आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले प्रमुख पदमा निर्वाचित बालेन्द्र साहलाई शपथ गराउनुभयो ।

महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साहलाई सोमबार राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको शपथपछि निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्दै मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडा ।

सो लगत्तै प्रमुख साहले उपप्रमुखमा निर्वाचित सुनिता डंगोल र ३२ वटै वडाका वडाध्यक्ष र वडा सदस्यलाई शपथ गराउनुभएको थियो । उपप्रमुख डंगोलले नेपाल भाषामा शपथ लिनुभएको थियो । प्रमुख साहले पनि मुख्य निर्वाचन अधिकृतबाट शपथ लिएपछि नेपाल भाषामा शपथको व्यहोरा पढ्नुभएको थियो ।

महानगरपालिकाका नवनिर्वाचित उपप्रमुख सुनिता डंगोललाई सोमबार राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको शपथ गराउँदै महानगर प्रमुख बालेन्द्र शाह ।

शपथ ग्रहण समारोहमा प्रमुखमा निर्वाचित साह दौरा सुरुवाल, कोट र भादगाउँले टोपी तथा उपप्रमुख डङ्गोलले हातले बुनेको ढाकाको साडी, चोलोका साथ सहभागी हुनुभएको थियो । समारोहमा नवनिर्वाचित १६० जना जनप्रतिनिधिलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको थियो ।

महानगरपालिकाका नवनिर्वाचित उपप्रमुख सुनिता डंगोललाई सोमबार राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको शपथपछि निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्दै मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडा ।

प्रमुख साह र उपप्रमुख डङ्गोलले आजै पदवहाली गर्ने कार्यक्रम रहेको छ । सो अवसरमा मुख्य निर्वाचन अधिकृत खतिवडाले जनताले दिएको मतलाई शिरोधार्य गरेर जनताको सेवा गर्न आग्रह गर्नुभयो । गत वैशाख ३० गते सम्पन्न निर्वाचनबाट प्रमुखमा स्वतन्त्र उम्मेदवार साह र उपप्रमुखमा नेकपा (एमाले)का सुनिता डङ्गोल निर्वाचित हुनुभएको थियो । गत वैशाख ३१ गते बिहानदेखि कामपाको मतगणना सुरु गरिएको थियो ।

नवनिर्वाचित वडाध्यक्षहरुलाई सोमबार राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको शपथ गराउँदै काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह ।

महानगरको अन्तिम मतपरिणाम गत शुक्रबार मात्रै सार्वजनिक भएको थियो । वडा २४ र २५ मा दलित महिला सदस्यको उम्मेदवारी नै परेन । कामपाको प्रमुख पदमा विभिन्न दल र स्वतन्त्र गरी ५६ जना र उपप्रमुखमा ३५ जनाको उम्मेदवारी परेको थियो । कामपाको ३२ वडामध्ये १९ वडामा नेपाली कांग्रेस र १२ वडामा एमाले विजयी भएको छ । एक वडामा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ ।

३ लाख २ सय ४२ मतदाता रहेको कामपामा करिब १ लाख ९० हजार ९ सय ६२ मत खसेको थियो । ७ हजार ६ सय ८२ मत पूर्ण बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

Facebook Comments