Thu. May 16th, 2024

फूल !

- भवानी न्यौपाने भावना

                                                             काठमाण्डौं, २०७९ जेठ १६ गते सोमबार ।

✍️भवानी न्यौपाने भावना

आफ्नो स्वाभिमान उचालेर
ढुङ्गै ढुङ्गाको चपेटामा
फूल्न सफल एक फूल हुँ
पत्थर हृदयहरूका बीच
दया र शान्तिको दान दिने
अपार उदारताको मूल हुँ
यो अफ्ट्यारो सन्सारमा
सहजताको जीवन जिउँदा
मेरा पछाडि पत्थर हिर्काएर
मेरो जरा उखेल्न आतुर होलान् केही
सृष्टिमा कहिले भीषण वर्षा हुन्छ
कहिले तुषारापात हुन्छ
कहिले उच्च ताप हुन्छ
यी सब सहजरूपले ग्रहण गर्दै
जीवन्त मुस्कुराउने अपार प्रेमको कुल हुँ
हरेक मौसम आउँछन् ,फेरिन्छन्
तर मेरो बाग कहिले रित्तिएन ,सुकेन र फेरिएन
म हिमपातमा पनि फुल्छु
असिनाको प्रहारमा पनि फुल्छु
हुरी बतासको आक्रमणमा पनि फुलिरहन्छु
त्यसैले मेरो स्वाभिमान अटल छ
यसरी नै फुलिरहने
म यो धर्तीको अमर फूल हुँ।

Facebook Comments