काठमाण्डौं महानगरपालिकाको मेयर पदमा बालेन्द्र साह ६१ हजार ७६७ मतसहित निर्वाचित
- उपमेयरमा सुनिता डंगोल ६८ हजार ६१२ मतसहित विजयी
काठमाण्डौं, २०७९ जेठ १२ गते बिहीबार । काठमाण्डौं महानगरपालिकाको मेयर पदमा र्यापर बालेन्द्र साह अत्याधिक मतसहित निर्वाचित हुनुभएको छ । स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७ सय ६७ मत ल्याउँदै मेयर पदमा निर्वाचित हुनुभएको हो ।
साहका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३ सय ४१ मत प्राप्त गर्नुभएको छ । साहले सिंहको भन्दा २३ हजार ४ सय २६ बढी मत प्राप्त गर्नुभएको हो । यसैगरी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार १ सय १७ मत प्राप्त गर्नुभएको छ ।
उपमेयर पदमा नेकपा एमालेका उम्मेदवार सुनिता डंगोल विजयी हुनुभएको छ । उहाँले ६८ हजार ६ सय १२ मत प्राप्त गर्दा उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादी उम्मेदवार रामेश्वर श्रेष्ठले २३ हजार ८ सय ६ मत प्राप्त गर्नुभएको छ । जुन डंगोलको भन्दा ४४ हजार ८ सय ५ मत कम हो ।
सिर्जना सिंहको उम्मेदवारी गठबन्धनका साझा उम्मेदवारको रुपमा भएकोले यस पटक काठमाण्डौं महानगरको नेतृत्व सिंहकै हातमा पुग्ने गठबन्धनका नेता तथा कार्यकर्ताहरुको विश्वास थियो तर मत परिणामले त्यसलाई अस्विकारमात्र गरेको छैन कि काठमाण्डौं महानगरपालिकामा नेपाली कांग्रेस निरीह समेत देखिएको छ । त्यसैगरी नेकपा एमाले पनि काठमाण्डौं महानगरपालिकामा रक्षात्मक अवस्थामा देखिएको छ ।
मेयर र उपमेयर दुवै पदमा अत्याधिक मतका साथ युवाहरुको विजयी भए पछि स्थानीयवासीहरुमा हर्ष र उमंग देखिएको छ । उनीहरु भन्छन, “अव त केही होला कि ?”