Fri. Nov 15th, 2024

भरतपुरमा रेनु दाहालको अग्रता कायमै

काठमाण्डौ, २०७९ जेठ ३ गते मंगलबार । भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवारको अग्रता कायमै रहेको छ ।

पाँच दलीय गठबन्धनबाट प्रमुख पदको उम्मेदवार बन्नुभएकी नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले ७ हजार ३ सय ५१ मतका साथ अग्रता लिनुभएको हो ।

नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीले ७ हजार २८ मतका साथ उहाँलाई पच्छ्याइरहनुभएको छ । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ५ सय ६२ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ८ हजार ९ सय ६ र राप्रपाका हिमला गुरुङले ५ हजार ८ सय ३ मत प्राप्त गर्नुभएको छ ।

महानगरको वडा नं १, २ र ४ को वडाध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार निर्वाचित हुनुभएको छ भने वडा नं ३ मा एमालेका वडाध्यक्ष निर्वाचित हुनुभएको छ ।

भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाको माडीको प्रमुखमा एमालेले जीत हासिल गरेको छ । इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकामा एमाले एवं रत्ननगर, खैरहनी र राप्ती नगरपालिकामा पाँचदलीय गठबन्धनको अग्रता कायम गरेको छ ।

Facebook Comments