Sun. Sep 22nd, 2024

अफगानिस्तानमा तालिबानद्वारा महिलालाई बुर्का लगाउन आदेश

काठमाण्डौ, २०७९ बैशाख २४ गते शनिबार । तालिबान अधिकारीहरूले सार्वजनिक स्थानहरूमा अनुहार पूरै ढाक्ने गरी बुर्का लगाउन अफगान महिलाहरूलाई आदेश दिएका छन्।

अघिल्लो वर्ष सत्ता कब्जा गरेयता उनीहरूले लगाएको कठोर नियन्त्रणका रूपमा यसलाई हेरिएको छ।

आफ्नो पहिलो शासनकालमा यस्तै व्यवस्था लागु गरेका उनीहरूले अघिल्लो वर्ष सत्ता हातमा लिएपछि बुर्का अनिवार्य गर्नेबारे कुनै आदेश दिएका थिएनन्।

नैतिक आचरणमाथि नियमन गर्ने तालिबान मन्त्रालयले यो प्रतिबन्धलाई सुझाव भनेको छ। तर यसको कार्यान्वयन नगर्ने महिलाका श्रीमान् वा पुरुष अभिभावकहरूलाई छोटो जेल सजाय सहितका कारबाही गर्ने चेतावनी दिइएको छ।

तालिबानहरूले सत्ता हातमा लिएपछि कतिपय महिलाहरूले बुर्कासँग अफगान संस्कृतिको सम्बन्ध नभएको भन्दै प्रदर्शन गरेका थिए। तालिबानको पछिल्लो कदमलाई महिलाहरूको स्वतन्त्रतालाई थप कुण्ठित गर्ने उनीहरूको प्रयासका रूपमा हेरिएको छ।

बीबीसीका सिकन्दर केरमानी भन्छन्, “नैतिक आचरणमाथि नियमन गर्ने तालिबान मन्त्रालय हालैका सातामा सक्रिय बन्दै गएको छ।” बीबीसी

Facebook Comments