Sun. Sep 22nd, 2024

सञ्चारमन्त्री कार्कीद्वारा गोरखापत्रको छापा र डिजिटल प्रकाशनको नयाँ डिजाइनको उद्घाटन

काठमाण्डौ, २०७९ बैशाख २४ गते शनिबार ।  गोरखापत्र प्रकाशनको १२२ वर्ष प्रवेश तथा संस्थानको ६० औं वार्षिकोत्सवको अवसरमा शनिबार छापा तथा डिजिटल प्रकाशनको नयाँ डिजाइनको उद्घाटन गरिएको छ। वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गोरखापत्र दैनिक, दि राइजिङ नेपाल, गोरखापत्र अनलाइन र राइजिङ नेपाल डेलीडटको नयाँ लेआउटको औपचारिक रुपमा उद्घाटन गर्नु भएको हो। संस्थान व्यवस्थापनले वैशाख १ गतेबाट नयाँ साजसज्जाका साथ छापा तथा अनलाइन प्रकाशनको सुरुवात गरेको थियो।

समारोहलाई सम्बोधन गर्नुहुँदै संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले इतिहास र विरासतको रुपमा गोरखापत्र गौरवशाली देखिए पनि डिजिटल प्रतिस्पर्धामा अब्बल हुनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो।

‘‘नेपालको सामाजिक रुपान्तरणमा गोरखापत्रको ठूलो योगदान रहेको छ। इतिहास र विरासतको रुपमा हेर्दा गौरवपूर्ण देखिन्छ। अहिलेको परिस्थिति अनुसार डिजिटल प्रतिस्पर्धामा अब्बल हुनपर्ने आवश्यकता छ’’, कार्यकारी अध्यक्ष सुवेदीले भन्नुभयो।

अब गोरखापत्रले प्रविधिको अधिकतम उपयोग गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ। कार्यकारी अध्यक्ष सुवेदीले छापा र डिजिटल प्लेटर्फमलाई फरक ढङ्गले प्रस्तुत गरिएको भन्दै त्यसमा आलोचना र प्रतिक्रिया दिएर सुधारको मौका दिन अनुरोधसमेत गर्नुभयो। ‘‘हामीले प्रिन्ट र डिजिटललाई अहिले फरक ढङ्गले पस्किएका छौँ। त्यसमा आलोचना र प्रतिक्रियाको आवश्यकता रहेको छ ’’, अध्यक्ष सुवेदीले भन्नुभयो।

अब २४ घण्टा कुरेर गोरखापत्र र राइजिङ नेपाल किन पढ्ने भन्ने चुनौती रहेको उहाँको भनाइ छ। कार्यकारी अध्यक्ष सुवेदीले १२२ वर्षदेखिको गोरखापत्रको सम्पत्ति सुरक्षा गर्न डिजिटल अर्काइभको काम भइरहेको समेत उल्लेख गर्नुभयो। यो इतिहास निर्माणको आधारशीला बन्ने उहाँको भनाइ छ।

‘‘हाम्रो सम्पत्ति हामीले नै सुरक्षा गर्नुपर्छ। हाम्रो लागि गोरखापत्रको अर्काइभ इतिहास निर्माणको आधारशीला बन्नेछ।’’ अध्यक्ष सुवेदीले गोरखापत्रको ठूलो सम्पत्ति यहाँ कार्यरत जनशक्ति भएको उल्लेख गर्नुभएको छ। उहाँले प्राविधिक कारणले केही शाखामा रोकिएका ग्रेड वृद्धिलाई नेपाल सरकारसँग समन्वय गरेर अगाडि बढाएको बताउनु भयो।  कार्यकारी अध्यक्ष सुवेदीले संस्थानको वित्तीय प्रणालीको व्यवस्थापनको कामसमेत भइरहेको उल्लेख गर्नुभयो। उहाँले गौरवशाली इतिहास बोकेको संस्थानको भवन जीर्ण रहेकाले यसको पुनर्निमाण र नयाँ निर्माणको विषयमा सरकारसँग सहयोगका लागि आग्रह पनि गर्नुभयो।

यसैगरी, अतिथिहरूको स्वागत गर्दै संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्रलाई डिजिटल र भौतिक रुपमै पाठकसम्म पुर्‍याउने लक्ष्य रहेको उल्लेख गर्नुभयो। ‘‘गोरखापत्र  संस्थानका प्रकाशनलाई डिजिटल र  भौतिक रुपमै पाठकसम्म पुर्‍याउनुपर्ने ठूलो जिम्मेवारी हामीसँग रहेको छ’’, महाप्रबन्धक ऐरीले भन्नुभयो।

गोरखापत्रप्रति आम पाठकको दायित्व बढाउन यसको दायरालाई फराकिलो बनाउने काम भइराखेको र त्यसका लागि स्थानीय सरकारसँग समन्वय भइरहेको उहाँको भनाइ छ। ‘‘गोरखापत्रको दायरा फराकिलो पार्ने काम भइराखेको छ। स्थानीय सरकारसँग यो विषयमा समन्वय भइरहेको छ’’, महाप्रबन्धक ऐरीले थप भन्नुभयो।

महाप्रबन्धक ऐरीले गोरखापत्रको विषयवस्तु सुधारको योजना अगाडि बढेको उल्लेख गर्नुभयो। उहाँले जनतालाई सूचना दिनु हुँदैन भन्ने समयमा सुरु भएको गोरखापत्रलाई परिस्कृत बनाउने योजनाका साथ संस्थानले काम गरिरहेको उल्लेख गर्नुभएको हो। गोरखापत्र अनलाईन

Facebook Comments