Sat. Sep 21st, 2024

हिमाली क्षेत्रका २२ जिल्लाका लागि आवश्यक करिब ३४ लाख मतपत्र ढुवानी

काठमाण्डौ, २०७९ बैशाख १४ गते बुधबार । निर्वाचन आयोग हिमाली क्षेत्रका २२ जिल्लाका लागि आवश्यक पर्ने करिब ३४ लाख मतपत्र ढुवानी गरेको छ ।

स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको र मङ्गलवारदेखि दुर्गम हिमाली तथा उच्च पहाडी जिल्लाहरूमा मतपत्र पठाउन सुरु गरेको निर्वाचन आयोगका सहसचिव तुलसी श्रेष्ठले जनाकारी दिनुभयो ।

 आयोगले सुदूरपश्चिम प्रदेशका ५ जिल्ला  तथा प्रदेश नं १ का ३ जिल्लामा मतपत्र पठाइएको जनाएको छ ।

यसैगरी, आयोगले कर्णाली प्रदेशका १० जिल्ला तथा सुदूरपश्चिम प्रदेशका ३ जिल्लामा पनि मतपत्र पठाइसकेको आयोगका सहसचिव श्रेष्ठले बताउनुभयो ।

निर्वाचन आयोगले मतपत्र बाहेकका अन्य निर्वाचन सामग्री भने यस अगाडि नै सम्बन्धित जिल्लामा पुर्‍याइसकेको छ ।

आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि करिब १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरेको छ भने आजसम्म एक करोड ८७ लाख प्रति अर्थात् कुल आवश्यकताको करिब ८८ प्रतिशत मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको जनाएको छ । गोरखापत्र अनलाईन

Facebook Comments