Sat. Sep 21st, 2024

वर्माका प्रजातन्त्रवादी नेता आङ सान सुकीलाई थप ५ वर्षको जेल सजाय

Aung San Suu Kyi

काठमाण्डौ, २०७९ बैशाख १५ गते बिहीबार । वर्माका प्रजातन्त्रवादी नेता आङ सान सुकीलाई थप ५ वर्षको जेल सजाय भएको छ ।

सैन्य शासनमा रहेको वर्मा (म्यानमार) को एउटा अदालतले गोप्य सुनुवाइपछि नेता आङ सान सू चीलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ। सन् २०२१ को फेब्रुअरीमा भएको सैन्य कूमा आफ्नो नेतृत्वको सरकार अपदस्थ भएयता उहाँ घरमै नजरबन्दमा रहनु् भएको छ । सैन्य शासकले ७६ वर्षीया नोबल पुरस्कार विजेता नेत्रीलाई थुप्रै फौजदारी अभियोगहरू लगाएको छ। उहाँले सबै आरोपहरू अस्वीकार गर्नुभएको छ भने अधिकारकर्मीहरू अदालतको सुनुवाइ निष्पक्ष नरहेको बताउँछन्।

राजधानीस्थित अदालतमा भएको सुनुवाइ नागरिक उपस्थिति नहुने गरी बन्द ढोकाभित्र भएको थियो र सू चीमा वकिलहरूलाई पत्रकारसँग बोल्न प्रतिबन्ध लगाइएको थियो।

बुधवार अदालतले उहाँलाई म्यान्मारको सबैभन्दा ठूलो सहर याङ्गुनका पूर्वप्रमुखसँग छ लाख अमेरिकी डलर नगद र सुन घुस लिएको मुद्दामा दोषी ठहर गरेको हो।

उहाँलाई पाँच वर्षको जेल सजाय तोकिएको छ। यो सजायपछि उहाँको कूल जेल बस्नुपर्ने समय ११ वर्ष पुगेको छ। गत डिसेम्बरमा उहाँलाई कोभिड नियम तोडेको मुद्दामा र ज्यानुअरीमा घरमा प्रतिबन्धित वाकीटकी राखेको मुद्दामा दोषी ठहर गरिएको थियो। बीबीसी

Facebook Comments