Thu. Nov 14th, 2024

झापामा चुनावको लहर, राप्रपाद्वारा भद्रपुरमा उम्मेदवार घोषणा

काठमाण्डौं, २०७९ बैशाख ४ गते आईतबार । झापामा स्थानिय चुनावको लहर सुरु भएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सदरमुकाम रहेको भद्रपुर नगरपालिकामा उम्मेदवारहरू घोषणा गरेको छ ।

भद्रपुर–४ स्थित चन्द्र मौलोश्वर सामुदायिक भवनमा आज उम्मेदवार घोषणा सभा आयोजना गरी राप्रपाले स्थानीय तहको आसन्न निर्वाचनको सन्दर्भमा भद्रपुर नगरपालिकाका लागि सबै उम्मेदवारहरूको नाम घोषणा गरेको हो ।

राप्रपाले भद्रपुरमा प्रमुखमा पार्टीका झापा ३ नं क्षेत्रीय अध्यक्ष नवराज पनेरु ‘राजु’ र उपप्रमुखमा भद्रपुर नगर समिति अध्यक्ष राधा कार्कीलाई उम्मेदवार बनाउने घोषणा गरेको छ । घोषणा सभाका प्रमुख अतिथि पार्टीका प्रवक्ता भक्ति सिटौलाले दुवै जनाको नाम घोषणा गरेका थिए । अघिल्लो निर्वाचनमा पनि भद्रपुरको प्रमुख र उपप्रमुखमा राप्रपाले पनेरु र कार्कीलाई नै उम्मेदवार बनाएको थियो ।

यसैगरी, वडाध्यक्ष र सदस्यहरूको उम्मेदवारहरूको नाम पार्टीका जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले घोषणा गरेका गर्नु भएको थियो ।

पार्टीका वार्ड र नगरस्तरीय कमिटीहरूबाट सिफारिस भएका नामहरूलाई जिल्ला कमिटीले अनुमोदन गरेको बताउँदै अध्यक्ष ओझाले सबै पदमा एक-एकजनाको मात्र नाम सिफारिस भएकोले राप्रपा भद्रपुरमा सर्वसम्मत उम्मेदवार चयन गर्न सफल भएको बताउनुभयो । उम्मेदवार चयन गर्दा क्रियाशील र युवालाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो ।

Facebook Comments