Fri. Sep 20th, 2024

निर्वाचन सफल पार्न सबै जुट्नु पर्ने प्रमुख आयुक्त थपलियाको भनाई

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया

काठमाण्डौं, २०७९ बैशाख ३ गते शनिबार ।  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचनको समय नजिकिदै गएकाले सबैजना निर्वाचन सफल पार्नमा जुट्ने बेला आएको बताउनुभएको छ ।

मधेस प्रदेशको राजधानी जनकपुरधाममा शनिबार निर्वाचन आयोगले आयोजना गरेको स्थानीय तह निर्वाचन २०७९ मिडिया अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा उहाँले यस्तो बताउनुभएको हो । निर्वाचनको मिति तय गर्नुअघि संविधान र कानुनलाई ध्यानमा राखेर विभिन्न प्रकारले विभिन्न विषयमा छलफल भएपश्चात सरकारले निर्वाचनको मिति घोषणा गरेको उहाँले बताउनुभयो ।

देशमा स्थानीय तह निर्वाचनको माहोल तयार भइसकेको अवस्थामा अब स्थानीय तहको निर्वाचन सार्न खोजिए त्यसले दुर्घटना निम्त्याउने प्रमुख आयुक्त थपलियाले बताउनुभयो । उहाँले भन्नुभयो, “देशमा निर्वाचनको माहोल तयार भइसकेको छ । कँहि कतैबाट अझै पनि निर्वाचनको विषयमा विभिन्न शंका उपशंका हुनु राम्रो होइन ।” निर्वाचन आयोगले निर्धारण गरेको तालिका बमोजिम अब हामी सबैले निर्वाचन सफल गर्नमा जुट्नुपर्छ उहाँले भन्नुभयो ।

निर्वाचनलाई उत्कर्षमा आजसम्म पुर्याउन मिडियाकर्मीको भूमिका महत्वपुर्ण भएको भन्दै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निषपक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न हामी सबैले आ-आफनो ठाँउवाट भूमिका निर्वाह गर्नुपर्छ उहाँले भन्नुभयो । सुशासन र समृद्धिमा पुग्नका लागि पहिलो पाइलाको रुपमा निर्वाचन रहेकाले निर्वाचनलाई सफल पार्नु सबैको दायित्व भएको प्रमुख आयुक्त थपलियाले चर्चा गर्नुभयो । निर्वाचन अचारसंहिता नैतिक र कानुनी बन्धन भएकाले यसको पालना सबै पक्षले गर्नुपर्ने उहाँले बताउनुभयो ।

निर्वाचन आचारसंहितालाई सामान्य रुपमा नलिन आग्रह गर्दै यसको उल्लंघन भएको विषयमा आयोगले जानकारी प्रप्त गर्दा स्पष्टीकरण सोधेर कानुनअनुसार कारवाही हुने उहाँले बताउनुभयो । अचारसंहिंता उल्लंघन भएको प्रमाणित भएमा एक लाख रुपियाँ जरिवानादेखि उम्मेदवारी खारेजीसम्मको कारबाही हुनसक्छ उहाँले भन्नुभयो । गोरखापत्र अनलाईन

Facebook Comments