Sat. Nov 23rd, 2024

मेलम्चीको पानी काठमाडौंका लागि पठाइयो

काठमाण्डौं, २०७८ चैत २९ गते मंगलबार । खानेपानीमन्त्री उमाकान्त चौधरीले आउँदो वैशाखसम्ममा काठमाडौँको धारामा मेलम्चीको पानी पुग्ने बताउनुभएको छ ।

मेलम्ची नदीको पानी आज पुनः पथान्तरण गरी उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री चौधरीले १ नं डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नं को गेट खोलेर उद्घाटन गर्नुभएको थियो ।

गत असार १ गते गएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो । सरकारले यही चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौँ पु¥याउने घोषणा गरेको थियो । पानी पठाउन आज सुरु गरिए पनि काठमाडौँमा उपलब्ध गराउन अझै दुई साता लाग्नसक्ने बताइएको छ । गत वर्ष चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो । दोस्रो चरणअन्तर्गत गत वैशाखमा १७ करोड लिटर पानी काठमाडौंमा वितरण थालिएको थियो ।

परीक्षणका लागि गत असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरुङमा पानी बन्द गरेको थियो । त्यही दिन मेलम्ची नदीमा बाढी आएसँगै मलेम्चीको पानी वितरण प्रक्रिया अवरुद्घ बनेको थियो । सुरुङमा प्रतिसेकेन्ड २६५ लिटर पानी हालिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले बताउनुभयो ।

सो अवसरमा उहाँले सरकारी लक्ष्यअनुसार चैत मसान्तभित्रै पानी सुरुङमा हाल्न पाएकामा खुसी व्यक्त गर्दै सरोकारवालाप्रति आभार प्रकट गर्नुभयो । मन्त्री चौधरीले स्थायी रुपमा पानी पठाउन एसियाली विकास बैंकको टोलीले गरेको भौगर्भिक अध्ययनको रिपोर्ट प्रतिवेदन पेस भएपछि कार्ययोजना बनाइने बताउनुभयो । कार्यक्रममा उहाँले सन्तनेता स्वर्गीय कुष्णप्रसाद भट्टराईको सपना, त्याग, तपस्याको स्मरण पनि गर्नुभभयो ।

हेलम्बु गाउँपालिका अध्यक्ष नीमाग्याल्जेन शेर्पाले यहाँका बाढीपीडितको समस्या समाधानका लागि मन्त्री चौधरीलाई ज्ञापनपत्र बुझाउँदै सङ्घीय सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले ११ बुँदे ज्ञापनपत्र बुझाउँदै हेलम्बुका बाढीपीडितलाई सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट उपलब्ध गराउने रकम प्रतिपरिवार रु पाँच लाख तोकिएकामा उक्त रकम बढाएर प्रतिपरिवार कम्तीमा १५ देखि २० लाख उपलब्ध गराउने व्यवस्था मिलाइदिन अनुरोध गर्नुभयो ।

मेलम्चीको पानी काठमाडौँ लगेबापत रोयल्टीको र बिक्री मूल्यको प्रतिशतमा मुनाफा बाँडफाँड बापतको २५ प्रतिशत सम्बन्धित गाउँपालिकालाई उपलब्ध गराउने व्यवस्थाका लागि पनि ठोस पहल गर्न उहाँले सरकारसँग आग्रह गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री नीमा लामा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल, मन्त्रालयका सहसचिव तिरेसप्रसाद तिवारी, प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल, गाउँपालिका अध्यक्ष नीमाग्याल्जेन शेर्पालगायतको उपस्थिति थियो । नेपाल टेलिभिजन

Facebook Comments