Fri. Nov 15th, 2024

ऊर्जा मन्त्री भुसालद्वारा लाहा चोक सब स्टेसन उद्घाटन

काठमाण्डौं, २०७८ चैत १४ गते सोमबार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहा चोकमा निर्माण गरिएको ‘लाहा चोक १३२/३३/११ केभी’ प्रसारण लाइन सब स्टेसनको उद्घाटन गर्नुभएको छ ।

मन्त्री भुसालले आगामी दुई वर्षभित्रमा सबै नेपालीका घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् पुर्‍याउने गरी सरकारले नीति, कार्यक्रम र योजना बनाएको उल्लेख गर्नुभयो । उहाँले नेपालका नदीनालाबाट अधिकतम विद्युत् उत्पादनका लागि देशभित्रको लगानीसहित अन्तर्राष्ट्रिय लगानी र साझेदारी खोजिने बताउनुभयो ।

सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखेको र सो विद्युत् नेपालमा मात्र खपत हुन नसक्ने भएकाले आन्तरिक खपतमा वृद्धि गर्दै विद्युत् व्यापारका लागि समेत कार्य अघि बढाइएको मन्त्री भुसालको भनाइ थियो ।

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले सब स्टेसन लगायत प्रसारण लाइन निर्माणका क्रममा स्थानीयवासी प्रभावित भएकाले सरकारले उचित मुआब्जा दिनुपर्ने बताउनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले लाहा चोक सब स्टेसन निर्माण र सञ्चालनसँगै विद्युत् आपूर्ति र गुणस्तरमा सुधार आउने बताउनुभयो । उहाँले स्थानीय जनताको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नयाँ मोदी-लेखनाथ प्रसारण लाइन र यसअन्तर्गतका सब स्टेसनबाट ग्रामीण क्षेत्रसहित पोखराको आधा भूभागमा विद्युत् सेवामा सुधार आउने बताउनुभयो ।

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले गाउँपालिकाअन्तर्गत हाल मर्दी खोलामा दुई र सार्दीखोलामा एक जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको र सेतीमा दुई आयोजना निर्माणका क्रममा रहेको जानकारी दिनुभयो । रेडियो नेपाल

Facebook Comments