चीनका विदेशमन्त्री वाङ यी स्वदेश फिर्ता
काठमाण्डौं, २०७८ चैत १३ गते आईतबार । नेपाल भ्रमणमा रहनु भएका चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी स्वदेश फर्कनु भएको छ । २५ सदस्यीय भ्रमण टोलीसहित विदेशमन्त्री वाङ यी आज दिउसो स्वदेश फर्कनु भएको हो ।
नेपालको तीन दिने भ्रमणमा शुक्रबार अपरान्ह काठमाडौं आईपुग्नु भएका विदेशमन्त्री वाङ यीले शनिवारदेखि राजनीतिक भेटघाटलाई तिब्र बनाउनु भएको थियो । शनिबार विहान परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग उहाँले भेटघाट गर्नुभएको थियो । त्यसअघि उहाँ बिहान साढे ६ बजे नै शिवपुरीमा हाइकिङ गर्न जानु भएको थियो ।
परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यी को उपस्थितिमा हिँजो (शनिबार) सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा नेपाल र चीनबीच नौबुँदे समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
शनिबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएका विदेशमन्त्री वाङ यीले आज विहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटगरी आपसी हितका विविध विषयहरुमा छलफल गर्नु भएको थियो । त्यसैगरी आज विहानै नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि विदेशमन्त्री वाङ यीले भेट्नु भएको थियो ।
चिनियाँ विदेश मन्त्रीलाई बिदाइ गर्न परराष्ट्र सचिव भरतराज पाैड्याललगायतकाे टाेली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेकाे थियाे । नेपालको संसदले गत महिना एमसीसी पास गरे लगत्तै नेपाल भ्रमणमा आएको उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डलको यस भ्रमणलाई विश्लेषकहरुले महत्वका साथ हेरेका छन् ।