Fri. Sep 20th, 2024

चिनियाँ विदेशमन्त्री वाङ यीद्वारा प्रधानमन्त्री देउवासँग भेटवार्ता

काठमाण्डौं, २०७८ चैत १२ गते शनिबार । नेपालको तीन दिने भ्रमणमा रहनु भएका चीनको राज्यपरिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री देउवासँग आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा एक घण्टा लामो भेटवार्ता गर्नुभएको हो । भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री डा नारायण खड्काले जानकारी दिनुभयो । भेटमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध, अन्तर्राष्ट्रिय मञ्चमा दुवै देशले एकअर्काका चासो र हितका विषयमा समर्थन गर्नेलगायत विषयमा कुरा उठान भएको उहाँले बताउनुभयो ।

वर्षौदेखि चीनसँग नेपालले भोगिरहेको व्यापार घाटा, चीनसँगका तातोपानी र रसुवागढी नाका सञ्चालन गर्ने, चीनमा अध्ययनरत नेपाली विद्यार्थीको अध्ययन कोभिड–१९ का कारण पूरा हुन नसकेको अवस्थामा त्यसलाई सहजता बनाउनेलगायत विषयमा पनि दुवै पक्षबीच सौहार्द रुपमा छलफल भएको थियो ।

दुवै देशका परराष्ट्रमन्त्रीबीच आजै द्विपक्षीय वार्तापछि दुवै देशका सम्बद्ध अधिकारीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी नौ वटा समझदारीमा पनि हस्ताक्षर गर्नुभएको छ ।

फोटो : सन्देश सापकोटा, रे टिभी एचडी

https://www.facebook.com/watch?v=368545625169595

Facebook Comments