Fri. Nov 15th, 2024

चिनियाँ विदेश मन्त्री वाङ यी आज नेपाल आउँदैहुँदै

काठमाण्डौं, २०७८ चैत ११ गते शुक्रबार । चिनियाँ विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ यी नेपालको तीन दिने भ्रमणका लागि आज काठमाण्डौं आउँदै हुनुहुन्छ । उहाँ आज बेलुका काठमाण्डौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुहुने परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । विदेशमन्त्री वाङ यीले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गर्नुहुने छ ।

चीन र नेपालका परराष्ट्रमन्त्रीसहितको द्विपक्षीय वार्ता भोलि शनिबारका लागि तय भएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएपछि हुन लागेको चीनका विदेशमन्त्रीको नेपाल भ्रमणलाई कुटनीतिज्ञहरुले महत्त्वका साथ हेरेका छन् ।

चिनियाँ विदेशमन्त्रीको भ्रमणका क्रममा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि लिइएको ऋणको ब्याज घटाउन, चीनमा मेडिकल शिक्षा पढिरहेका तर कोरोनाका कारण नेपाल आएका विद्यार्थीलाई फेरि चीन लैजान, बीआरआई अन्तर्गतका आयोजना कार्यान्वयनमा चीनले अनुदान दिनुपर्ने, लामोसमयदेखि बन्द रहेको दुवै देशको हवाई आवागमन यथासक्य चाँडो सञ्चालन गर्ने लगायतका विषय उठाउने तयारी नेपालले गरेको छ ।

त्यसैगरी कोरोना महामारीसँगै बन्द रहेका चीनसँगका प्रमुख व्यापारिक नाका तातोपानी र रसुवागढी अविलम्व सञ्चालनका लागि समेत वार्तामा छलफल हुनुपर्ने कुटनीतिज्ञहरुको धारणा रहेको छ ।

Facebook Comments