Sun. Nov 17th, 2024

आज महाशिवरात्रि पर्व, भगवान शिवको पूजाआराधना गरि भव्य रुपमा मनाईदै

- पशुपति क्षेत्रमा दर्शनार्थीको घुईचो

काठमाण्डौं, २०७८ फागुन १७ गते मंगलबार । आज महाशिवरात्रि पर्व, भगवान शिवको पूजाआराधना गरि भव्य रुपमा मनाईदै छ । सामान्य स्तुतिबाटै छिट्टै प्रसन्न हुने आशुतोष स्वभावका निराकार शिव स्वरूप यसै रात प्रकट भएको भन्ने धार्मिक मान्यता छ ।

प्राचिनकालदेखि नै फागुन कृष्ण चतुर्दशीको राति धार्मिक उल्लासका साथ महाशिवरात्रि पर्व धुमधामका साथ मनाउने चलन छ । विश्वभरीका हिन्दू धर्मावलम्बीहरुका आराध्यदेव पशुपतिनाथको पूजा र आराधना गर्न यत्तिवेला काठमाण्डौको पशुपति क्षेत्रमा साधुसन्त एवम् भक्तजनहरुको भिड लागेको छ ।

पशुपति क्षेत्र विकास कोषले आज ५० लाख दर्शनार्थीले मन्दिर अवलोकन गर्ने अनुमान गरेको छ । भक्तजनको सुविधाका लागि यस वर्ष विशेष व्यवस्था मिलाइएको कोषका सदस्य सचिव डाक्टर मिलनकुमार थापाले बताउनुभयो ।

चार वर्ष अघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको छ । यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले पक्राउ कारबाही गर्ने उहाँले बताउनुभयो । यस्तै, आज  बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको कोषले जनाएको छ ।

यसैबीच पशुपतिनाथ क्षेत्रमा सोमबार मध्यरातबाट सवारीसाधन आवागमन निषेध गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रवक्ता सञ्जीव शर्मा दासले शिवरात्रिमा हुने भीड व्यवस्थापनका लागि विभिन्न क्षेत्रमा सवारी आवागमन निषेध गरिएको बताउनुभयो । उहाँका अनुसार पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा पुरानो बानेश्वरदेखि चाबहिल, तिलगङ्गादेखि कालोपुलसम्मको क्षेत्रबाट सवारी प्रवेश निषेध गरिएको छ ।

त्यस्तै पुरानो बानेश्वर, भीमसेनगोला, सिनामङ्गल हुँदै तिलगङ्गासम्मको बाटोबाट पनि सवारी प्रवेश निषेध गरिएको छ । धोबीखोलातर्फ रातोपुल, कालोपुल, सिफलसम्म र चाबहिल, गौरीघाटलगायत क्षेत्रबाट पशुपति क्षेत्रभित्र सवारी प्रवेश निषेध गरिएको छ ।

Facebook Comments