Mon. Dec 23rd, 2024

पोखरालाई माया गर्ने विदेशी-डोरोथी मिरो

- सुनिल उलक

काठमाण्डौं, २०७८ फागुन १४ गते शनिबार । पोखरालाई माया गर्ने बिदेशी-डोरोथी मिरो कोलोराडो राज्यको ग्लाकनोर अस्पतालमा इ.सं. नवम्वर ८, १९२० मा जन्मेका डोरोथी मिरो, कुनै बेला कोलोराडो युनिवर्सिटीका प्रेसिडेन्ट रहेका सि.सि. मिरोका छोरी थिए । कार्लटन कलेजबाट ग्राजुएट गरे पछि केही समय कोलोराडो कलेजमा जियोग्राफी पढाएका उनि पछि त्यसै कलेजको म्यूजियममा ब्यबस्थापनको कार्यमा लागे ।

पोखरामा रहँदा डोरोथी मिरोले आफ्नै खर्चमा बनाएको घर

यसै समयमा पिस कर्पको स्थापना भए पछि उनि भोलेन्टियरको रूपमा तेश्रो मुलुक जान इच्छुक भए । पिस कर्पले पहिलो समुहको नाम तैयार गर्दा उनि भोलेन्टियरको रूपमा नेपाल जाने विद्यार्थीमा छानिए, उनि निकै खुशी भए । नेपाल आए पछि केही समय काठमाडाैमा रहेका उनि त्यस पछि पोखरामा भर्खर खुलेको पृथ्वीनारायण कलेजमा अध्यापनको लागी जान अनुरोध भयो । जुन उनले सहजै स्विकार गरे ।

पृथ्वीनारायण कलेजमा प्राध्यापनको समयमा डोरोथी मिरो आफ्ना सहपाठीहरुसंग

पोखरामा आए पछिको उनको आफ्नो अनुभव उनको अन्तर्वार्तामा सुन्न सकिनेछ । साथीहरूलाई सहज होस भनेर अंग्रेजी शव्द पनि राखेर भिडियो बनाइदिएको छु । यो वहाँको दुर्लभ र महत्वपूर्ण आवाजलाई मेरो संग्रहमा सुरक्षित राखेको छु । यसरी पोखरा प्रवेश गरेका डोरोथी मिरो वहाँको बुबाको देहावसान पछि पोखरामा नै बस्ने निधो गरे । वहाँको आफ्नो सपनालाइ साकार गर्दै क्याम्पस परिसरमा म्यूजियमको स्थापना गरे ।

तैयार भए पछि अन्नपूर्ण म्यूजियम

त्यहि म्यूजियमका लागी सम्पूर्ण समय लगाए । वहाँसंगको मेरो आफ्नै पनि मिठो याद गासिएको छ । ठ्याक्कै साल मलाइ याद भएन, तर दिनचर्या याद छ । म हरेक शनिवार वहाँको घरमा पुग्दथे । उहाँ त्यसबेला नेपालको त्रिआयामिक नक्शा बनाउदै हुनुहुन्थ्यो । जो हाल अन्नपूर्ण स्ंग्रहालयमा देख्न सक्नुहुन्छ । यसको लागी वहाँले बिभिन्न आकारको सानो सानो कागजको टुक्रा काट्नु हुन्थ्यो, म त्यो कागजको टुक्रालाई वहाँले भनेको ठाउमा टास्दथे । मैले यसरी टासेका टुक्राहरू नै आज नक्शामा पहाडको आकृतीमा ठडिएको छ ।

डोरोथी मीरोको सपना साकार हुदै गर्दाको क्षण

 

त्यतिबेला लक्ष्मी दिदी हुनुहुन्थ्यो । वहाले खाजा बनाएर खुवाउनु हुन्थ्यो । तोत्रमान दाइ र चन्द्रदाइ अध्ययनको सिलसिलामा बाहिर हुनुहुन्थ्यो । लक्ष्मीदिदी तथा चन्द्र दाइको देहावसान भइसकेको छ । तोत्रमान दाइ अमेरिकामा हुनुहुन्छ । वहाँले पोखराको सम्झना गर्दै “Thirty Years in Pokhara” पुस्तक लेखे । जीवनको अन्तिम समय तिर वहाँ दीपमा बस्नुहुन्थ्यो । क्यान्सरसंग संघर्ष गर्दा गर्दै अन्तमा भदाै ८, २०५७ (अगष्ट २४, २०००) मा सदाको लागी संसारबाट बिदा भए ।

उहाँले आफ्नो जीवनको अमुल्य समय लगाएको अन्नपूर्ण म्यूजियम नेपाल सरकारलाइ सुम्पिए । हाल यसको ब्यबस्थापन राष्ट्रिय प्रकृती संरक्षण कोष अन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र कोषले हेर्ने गर्छ । “I lost my heart to Pokhara and its people” भनेर उनले आफ्नो पुस्तक “Thirty Years in Pokhara” मा लेखेका थिए । आज वहाँको संग्रहालयले यो सबै सत्यता सावित गरेको छ । वहाँले ई.सं. १९६२ देखि खिच्नु भएको असंख्य फोटोहरु एक बाकसमा सुरक्षित राखिएको जानकारी मृत्यु भन्दा केहि अगाडि पत्रद्वारा पिस कर्प कार्यालयलाई दिएको थियो । तर सो बाकस हालसम्म कतै भेटिएको छैन ।

Facebook Comments