Sat. Sep 21st, 2024

राष्ट्रियसभा सदस्य निर्वाचन: मधेस प्रदेशमा सत्तारुढ गठबन्धनका अर्याल र सिद्दिकी विजयी

काठमाण्डौं, २०७८ माघ १२ गते बुधबार ।राष्ट्रियसभा निर्वाचन अन्तर्गत मधेस प्रदेशमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।

मधेस प्रदेशमा दुई सिटका लागि बुधबार भएको निर्वाचनमा सत्तारुढ पाँच दलको संयुक्त उम्मेदवार नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल र जनता समाजवादी पार्टीका खालिद सिद्दिकी विजयी हुनुभएको हो । निर्वाचित अर्यालले छ हजार एक सय ५६ र सिद्दिकीले छ हजार छ सय ७८ मतभार प्राप्त गर्नुभयो । विपक्षी दल नेकपा एमाले र लोकतान्त्रिक समाजवादी गठबन्धनबाट महिलातर्फको उम्मेदवार रुपाकुमारी यादवले दुई हजार सात सय ५४ र उसमान अन्सारीले दुई हजार सात सय ६६ मतभार प्राप्त गर्नुभयो । महिला समूहबाट लोसपाकी उम्मेदवार रुपालाई समर्थन गरेकी बिनादेवी साहलाई समेत मत परेको छ । विनालाई ३ सय ६ मतभार परेको हो ।

मधेस प्रदेशमा कूल तीन सय ७२ मध्ये तीन सय ६६ जनाले मतदान गर्नुभएको थियो । जनकपुरधामस्थित महेन्द्रनरायण निधि भवनमा राखिएको बुथ केन्द्रमा कुल तीन ७२ मत रहेको यस प्रदेशमा तीन सय ६६ मत खसेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले बताउनुभयो ।

प्रदेशसभातर्फ १०२ र स्थानीय तहतर्फ २६४ मत खसेको उहाँले जानकारी दिनुभयो । प्रदेशसभा सदस्यतर्फ दुई र स्थानीय तह (प्रमुख, उपप्रमुख) तर्फ चार जना गरी छ जना अनुपस्थित रहेको निर्वाचन अधिकृत प्याकुरेलले भन्नुभयो । गोरखापत्र अनलाईन

Facebook Comments