Mon. Dec 23rd, 2024

नेपाली नर्स बेलायत लग्नेबारे औपचारिक वार्ता भोली

काठमाण्डौं, २०७८ पुस २९ गते बिहीबार । नेपाली नर्सलाई बेलायतमा रोजगारीको अवसर दिनेबारे बेलायत र नेपालबीच औपचारिक वार्ता भोलि (शुक्रबारदेखि) शुरु हुने भएको छ । नेपाल र बेलायत सरकारले गठन गरेको वार्ता टोलीले शुक्रबारदेखि औपचारिक रुपमा नर्स बेलायत लैजानेबारे छलफल गर्न लागेको श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताउनुभयो ।

बेलायत सरकारले एक पत्र पठाएपछि मन्त्रालयले दुबै पक्षबाट कार्यदल बनाएर वार्ता अघि बढाउन बेलायत सरकारलाई प्रस्ताव गरेको थियो । त्यसैअनुसार बेलायतले नेपालस्थित दूतावासका एक अधिकारीको नेतृत्वमा वार्ता टोली बनाएको छ । नेपाली वार्ता टोलीको नेतृत्व मन्त्रालयका सहसचिव राजीव पोखरेलले गर्नुहुनेछ ।

बेलायतसँग करार अवधि, श्रमिकको हित, सुविधा र छनोट विधिसहितका प्रक्रिया बारेमा छलफल हुने छ । वार्ता सफल भएमा बेलायतले नेपालबाट चरणबद्ध रुपमा नर्सहरु लैजाने प्रवक्ता घिमिरेको भनाइ छ । गोरखापत्र अनलाईन

Facebook Comments