Sat. Sep 28th, 2024

एससीसीबारे सत्तारुढ कार्यदलद्वारा प्रारम्भिक छलफल सुरु

काठमाण्डौं, २०७८ पुस ७ गते बुधबार । अमेरिकी सहयाेग परियाेजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) बारे साझा धारणा तय गर्न सत्तारुढ गठबन्धनद्वारा गठित कार्यदलले प्रारम्भिक छलफल सुरु गरेको छ । नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेतृत्वमा गठित कार्यदलले एमसीसीबारे सत्तारुढ दलबीच समान धारणा तय गर्न आज बुधवारदेखि छलफल सुरु गरेको हो ।

उज्यालो अनलाईनका अनुसार कार्यदलका संयोजक खनालको डल्लुमा रहेकाे निवासमा एमसीसीबारे साझा धारणा तय गर्ने आज पहिलाे बैठक बसेकाे हाे । बैठकमा गरिएको प्रारम्भिक छलफल सकारात्मक रहेको कार्यदलका सदस्यसमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । कार्यदलले त्यसलाई छिट्टै निष्कर्षमा पुर्‍याएर सञ्चारमाध्याममार्फत नेपाली नागरिकलाई सुसूचित गर्ने योजना पनि बनाएको छ ।

मन्त्री कार्कीले भन्नुभयो, ‘एमसीसीबारे एकै किसिमको धारणा बनोस् भनेर हामीले छलफल प्रारम्भ गरेका छौँ र छलफल सकारात्मक भएको छ । केही दिनपछि हामी एउटा निष्कर्षमा पुग्छाैँ ।’

सत्तारुढ पाँच दलले केही दिनअघि एमसीसीबारे समान धारणा तय गर्न खनालको नेतृत्वमा नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ र कांग्रेस नेतासमेत रहनुभएका मन्त्री कार्की सम्मिलित तीन सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले एमसीसीबारे धेरै छलफल गरेको उल्लेख गर्दै निष्कर्षमा अग्रसर हुने गरी छलफललाई अघि बढाएको पनि जनाएको छ ।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसीलाई पारित गरेर जानुपर्ने पक्षमा हुनुहुन्छ भने सत्ता साझेदार नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले यथास्थितिमा यसलाई संसदबाट पारित गर्न नहुने धारणा राख्दै आएका छन् । यता, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने सत्तारुढ दलहरूको धारणा आएपछि मात्रै एमसीसीबारे आफूहरूले निर्णय लिने बताउँदै आएको छ ।

Facebook Comments