Fri. May 17th, 2024

क्रिसमसका बेला हुने यात्राले नयाँ भेरिअन्ट फैलाउने अमेरिकी विज्ञको चेतावनी

काठमाण्डौं, २०७८ पुस ५ गते सोमबार । क्रिसमसका बेला हुने यात्राले कोभिडविरुद्धका खोपको पूर्ण मात्रा लगाइसकेकाहरुमा समेत कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन फैलिन सक्ने एकजना शीर्ष अमेरिकी सङ्क्रामक रोगविज्ञले बताउनु भएको छ ।

“यसमा कुनै शङ्का छैन की यसको (ओमिक्रोन) फैलन सक्ने असाधारण क्षमता छ,” डा. एन्थोनी फाउचीले आइतवार आयोजित एक पत्रकार सम्मेलनमा भन्नुभयो। महामारीबारे अमेरिकी सरकारलाई सुझाव दिने फाउचीले नयाँ भेरिअन्ट हाल “विश्वभर फैलिरहेको बताउनु भयो।”

कोरोनाभाइरसको व्यापक उत्परिवर्तित स्वरूप फैलन नदिन कैयौँ राष्ट्रहरूले कडा नियमहरू लागु गर्दैछन्। युरोपमा फ्रान्स र जर्मनीले यात्रा प्रतिबन्ध लागु गरेका छन्।

नेदरल्यान्ड्सले क्रिसमस नजिकिँदै गर्दा कडा लकडाउन लागु गरेको छ। अनुसन्धानकर्ताहरूले बुस्टर मात्राले गम्भीर बिरामी हुनबाट लगभग ८५ प्रतिशत सुरक्षा प्रदान गर्न सक्ने बताएसँगै विभिन्न देशका सरकारहरूले उनीहरूको कोभिड खोपको बुस्टर मात्रा दिने कार्यक्रमहरू अघि बढाइरहेका छन्। बीबीसी

Facebook Comments