Sat. Sep 28th, 2024

किराँत समुदायले आज धुमधामका साथ उधौली पर्व मनाउँदै

काठमाण्डौं, २०७८ पुस ४ गते आईतबार । किराँत समुदायले आज धुमधामका साथ उधौली पर्व मनाउँदैछन् । खेतीपाती राम्रो भयो, काम सकियो, अब अन्नको सह बसोस्, खाद्यान्नको अभाव नहोस् भनी प्रत्येक वर्षको मंसिर शीर्ष शुक्ल पूर्णिमा का दिन भूमिस्थान र साकेलास्थानमा पूजा गरी उधौली पर्व मनाउने परम्परा रहेको छ ।

प्रकृतिको पूजा गर्ने र प्रकृतिलाई भगवानका रुपमा मान्ने किराँत समुदायले खेतीपातीमा केही गल्ती भएको भए सन्तान सम्झेर माफी गरिदिनुस् भनी प्रार्थना गर्ने परम्परा छ ।

किराँत समुदायका राई, लिम्बु, सुनुवार र याक्खाले यो पर्व मनाउँछन् । वैशाख शुक्ल पूर्णिमाका दिन गर्मी छल्न उँभो गइ उभौली पर्व मनाएको किराँत समुदायले आजैदेखि जाडो छल्न उँधो झर्ने भएकाले यो पर्वलाई उधौली भन्ने गरिएको सामाजिक मान्यता छ । पूजापछि साकेला नाचिन्छ ।

साकेला अथवा चण्डी भनिने उक्त नाचमा प्रकृतिमा भएका पशुपक्षी मानव समुदायलाई आवश्यक पर्छ भन्ने सन्देश दिइन्छ । भोजपुरको खैराङ, देवान्टारको साँगुरी, भोजपुर सदमुकाम, धनकुटाको छिन्ताङ, खोटाङको दिक्तेल, झापाको झिलझिले आसपास लगायतका क्षेत्रमा दशर्कौदेखि भव्य रुपमा साकेला नाच नाच्ने परम्परा रहेको छ । त्यसैगरी काठमाण्डौ उपत्यकामा रहेका किराँती समुदायका युवायुवतीहरुले काठमाडौंको टुडिखेलमा भव्य नाचगान गर्दै यो पर्व मनाउने गर्दछन् ।

सरकारले उधौली पर्वको अवसरमा देशभरका सम्बन्धित समुदायका लागि बिदा र काठमाण्डौ उपत्यकामा भने सार्वजनिक बिदा दिएको छ।

Facebook Comments