वर्मामा सैनिक शासनको हिरासतमा यातना र दुर्व्यवहार भोगेका महिलाको कथा
काठमाण्डौं, २०७८ पुस २ गते शुक्रबार । वर्मामा म्यान्मारमा हिरासतमा रहेका महिलाहरू यातना, यौन उत्पीडन र बलात्कारको धम्कीको सिकार भएको विवरण बीबीसीले प्राप्त गरेको छ। त्यहाँको सेनाले गरेको कूविरुद्ध प्रदर्शनमा सहभागी पाँच जना महिलाहरूले गिरफ्तारीपछि आफूहरूमाथि यौन दुर्व्यवहार भएको र यातना दिइएको बताएका छन्।
सुरक्षाका लागि यो समाचारमा उनीहरूको नाम परिवर्तन गरिएको छ। गत फेब्रुअरीमा त्यहाँको सेनाले सत्ता कब्जा गरेपछि देशभर प्रदर्शनहरू भएका थिए। महिलाहरूले म्यान्मारमा सैनिक सरकारको प्रतिरोधी आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। मानवअधिकारवादी समूहले त्यहाँको सेनाले बेपत्ता बनाउने र यातना दिने जस्ता उपायहरू विगतमा प्रयोग गरिरहे पनि हिंसा अझै व्यापक भएको बताएका छन्।
एक गैरनाफामुखी मानवअधिकारसम्बन्धी संस्थाका अनुसार डिसेम्बर ८ सम्म १,३१८ जना नागरिकहरू पक्राउ परेका छन्। प्रजातन्त्र पक्षधर आन्दोलनमा पक्राउ पर्नेमा ९३ जना महिला छन्। हिरासतमा मृत्युवरण गरेका आठ जना महिलामध्ये चार जनालाई सोधपुछ केन्द्रमा यातना दिएर मारिएको थियो।
आन्दोलनका क्रममा १०,२०० भन्दा बढी व्यक्तिहरूलाई पक्राउ गरिएको र त्यसमा दुई हजारभन्दा बढी महिलाहरू रहेको बताइएको छ। ६ महिनाभन्दा लामो समय हिरासतमा बिताउनु भएकी प्रजातन्त्र अभियानकर्मी इन सोय मेले सुरुका १० दिनमा त्यहाँको एक सोधपुछ केन्द्रमा आफूलाई राखिएको र यौन उत्पीडनका साथै यातना दिएको आरोप लगाउनु भएको छ ।
आन्दोलनको लागि प्लेकार्ड बनाउँदै गर्दा आफूलाई एक दिन बिहानै पक्राउ गरिएको र भ्यानको पछाडि कोचेर लगिएको उहाँले बताउनु भयो । राति सोधपुछ केन्द्रमा लगिएकी उहाँलाई आँखामा पट्टी बाँधेर विभिन्न अस्वाभाविक वस्तुहरू छुन बाध्य बनाइएको थियो। सोधिएका प्रश्नको चित्तबुझ्दो उत्तर नदिँदा बाँसको लट्ठीले हानेर यातना दिइएको उहाँले बताउनु भएको छ । बयानका क्रममा उहाँलाई आफ्नो यौन जीवनको विवरणहरू खुलाउन बारम्बार दबाव दिइएको थियो।
एक जना प्रश्नकर्ताले “यहाँ आइपुगेका महिलालाई हामीले के गर्छौँ थाहा छरु हामीले उनीहरूलाई बलात्कार गरेर मार्छौ ” भनेर धम्की दिएको मे सम्झनुहुन्छ । उहाँले आँखामा पट्टी बाँधेर आफूले लगाएको बाहिरी वस्त्र उतारिएको र उनीहरूले आफूलाई अनावश्यक रूपमा नङ्ग्याउन खोजेको आरोप लगाउनु भएको छ ।
आँखामा लगाइएको पट्टी खोलिँदा उहाँले एक सुरक्षाकर्मीले पेस्तोलबाट गोली निकालिरहेको देख्नु भयो। एउटा गोली आफ्ना सम्पर्क विवरणहरू दिन अस्वीकार गरेपछि उहाँको मुखभित्र जबरजस्ती कोचिएको मेको आरोप छ।
ह्युमन राइट्स वाचकी म्यान्मार अनुसन्धानकर्ता म्यानी मङका अनुसार अस्थायी होल्डिङ सेन्टर, सैन्य ब्यारेकको कोठा वा प्रयोगविहीन सार्वजनिक भवनहरूमा सोधपुछ केन्द्रहरू बनाइएको छ।
आफ्नो सुरक्षाको लागि नाम खुलाउन अस्वीकार गरेका म्यान्मारका अर्का एक वकिलले पनि यो कुरा बीबीसीसँग पुष्टि गरिन्। उनका अनुसार आफूले प्रतिनिधित्व गरेका धेरै जना ग्राहकहरूले सोधपुछका क्रममा यातना र यौन दुर्व्यवहार खेपेको बताएका थिए।
अर्कै मान्छे ठानेर पक्राउ गरेका अर्का एक ग्राहकलाई आफू सम्बन्धित व्यक्ति होइन भनेर दाबी गरे पनि फलामको रडले नली खुट्टामा थिचेर बेहोस हुँदासम्म यातना दिइएको थियो।
“त्यसपछि उनलाई अर्को एउटा सोधपुछ केन्द्रमा पठाइएको थियो जहाँ एक जना पुरुष गार्डले आफूसँग सुत्न तयार भए उनलाई रिहा गरिदिन्छु भनेको आरोप लगाएकी छन्,” ती वकिलले भनिन्।
म्यान्मारको अपारदर्शी कानुनी प्रणालीका कारण धेरै जना सरकारी वकिलहरू निरीह हुनुपरेको उनको गुनासो छ। बीबीसी