Wed. Dec 25th, 2024

नेपाली कांग्रेसका सबै पदाधिकारीको मतगणना सम्पन्न, सहमहामन्त्रीमा किशोरसिंह राठौर, महेन्द्र यादव, फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी र बद्रीप्रसाद पाण्डे निर्वाचित 

काठमाण्डौं, २०७८ पुस २ गते शुक्रबार । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीतर्फको मतगणना सम्पन्न भएको छ । सोमबार सम्पन्न निर्वाचनको मतगणना आज सम्पन्न भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

प्राप्त मत पछिल्लो परिणामअनुसार खसआर्य तर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर, मधेसीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव, मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर, थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी र पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीमा बद्रीप्रसाद पाण्डे निर्वाचित हुनुभएको छ ।

समितिका अनुसार राठौरले दुई हजार ५७६ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिस्पर्धी देवराज चालिसे दुई हजार ५९ मत प्राप्त गर्नुभयो । मधेसीतर्फ यादवले दुई हजार ३३० र उहाँका निकटतम प्रतिस्पर्धी रामकृष्ण यादवले एक हजार ८२० तथा अर्का प्रत्यासी रञ्जित कर्णले ४७२ मत प्राप्त गर्नभएको थियो । मुस्लिमतर्फ मन्सुरले दुई हजार ७७६ मत र गर्दा उहाँका निकटतम प्रतिस्पर्धी शेख वकिलले एक हजार ८७१ मत प्राप्त गर्नुभयो ।

यसैगरी थारुतर्फ चौधरीले दुई हजार ७६२ र उहाँका निकटतम प्रतिस्पर्धी तेजुलाल चौधरीले एक हजार ८७७ मत प्राप्त गर्नुभयो । पिछडिएको क्षेत्रतर्फ पाण्डेले दुई हजार ४११ र उहाँका निकटतम प्रतिस्पर्धी जीवनबहादुर शाहीले दुई हजार १३३ मत तथा अर्का प्रत्याशी चेतराज बजालले ९९ मत प्राप्त गर्नुभएको थियो । यसअघि महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, दलिततर्फको सहमहामन्त्रीमा जीवन परियार र आदिवासी÷जनजातितर्फको सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बे निर्वाचित भइसक्नुभएको छ । समावेशीका विभिन्न आठ क्लष्टरअन्तर्गत आठ सहमहामन्त्री पदका लागि १९ जनाको उम्मेदवारी परेको थियो ।

कांग्रेसको महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा हालसम्म प्राप्त मतपरिणामअनुसार पदाधिकारीमध्ये सभापतिमा प्रधानमन्त्री रहनुभएका शेरबहादुर देउवा, उपसभापति दुई पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री दुई पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भइसक्नुभएको छ । पदाधिकारीपछि केन्द्रीय सदस्यको मतगणना जारी रहेको पार्टी कार्यालयले जनाएको छ ।

कांग्रेसमा जम्मा महाधिवेशन प्रतिनिधि (मतदाता) चार हजार ७४३ रहेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ जनाले उम्मेदवारी दिनुभएको थियो । केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशीका विभिन्न आठ क्लष्टरअन्तर्गत आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेसको विधानमा व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ । नेपाल टेलिभिजन

Facebook Comments