Sat. Sep 21st, 2024

ऊर्जा मन्त्री भुषालद्वारा विद्युतीय गाडीमात्र किन्न आग्रह

काठमाण्डौं, २०७८ कात्तिक १६ गते मंगलबार । ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुषालले नयाँ गाडी किन्ने नेपालीहरूलाई विद्युतीय गाडीमात्र किन्न आग्रह गर्नु भएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको रजत महोत्सवको अवसरमा आज काठमाडौँमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री भुषालले नेपालमा बढ्दो पेट्रोलियम पदार्थको खपतलाई घटाउन सरकारले विद्युतीय गाडी आयातमा लगाएको भन्सार राजस्वमा छूट दिएको अझै पनि घटाउने सम्बन्धमा छलफल भइरहेको उल्लेख गर्नुभयो ।

मन्त्री भुषालले सबै खाले ऊर्जा खपत हुने ठाउँमा जलविद्युत खपत होस भन्ने सरकारको मान्यता रहेको उल्लेख गर्दै हाल देशमा माग भए जति विद्युत् दिन सकिने अवस्थामा पुगेको बताउनु भयो ।

मन्त्री भुषालले विद्युतको खपत बढाउन महसुल घटाउनुका साथै २० युनिटसम्म खपत गर्नेलाई छुट दिएको बताउनु भयो । उहाँले विद्युतको माग बढ्दै जाँदा विद्युतको महसुल पनि थप घटाउने गरी छलफल भएको समेत बताउनु भयो ।

मन्त्री भुषालले विद्युत् सस्तो बनाएर नेपालीको भान्साबाट एलपिजि ग्यास हटाउने अभियानमा सरकार जुटेको समेत उल्लेख गर्नु भयो । कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव देवेन्द्र कार्कीले साना जलविद्युतलाई राष्ट्रिय प्रणालीमा जोड्न सरकारले सहज प्रक्रिया र कानूनी प्रबन्ध गर्ने बताउनु भयो ।

नवीकरणीय ऊर्जा परिसंघका अध्यक्ष गुणराज ढकालले नेपालको निजी क्षेत्रले उत्पादन गरेका वैकल्पिक ऊर्जा क्षेत्रमा उपकरणहरूको उत्पादन गरेको भए पनि यसको प्रवर्द्धन गर्न सरकारले ध्यान नदिँदा बन्द गर्ने अवस्थामा पुगेको बताउनु भयो ।

कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक डा.मधुसूदन अधिकारीले केन्द्रले आफ्नो स्थापनाको २५ वर्षमा नेपालका लघु जलविद्युत आयोजनाहरू मार्फत ३६ मेगावाट विद्युत् उत्पादन गरेको र त्यसबाट ३५ लाख घर धुरीका जनतासम्म विद्युतको पहुँच पुगेको बताउनु भयो ।

कार्यक्रममा देशमा वैकल्पिक ऊर्जाको प्रवर्द्धनमा विभिन्न क्षेत्रबाट योगदान गर्नुहुने व्यक्ति तथा संस्थाहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । रेडियो नेपाल

Facebook Comments