Sat. Sep 21st, 2024

प्रधानमन्त्री देउवा र श्रीलङ्काका राष्ट्रपतिबीच बेलायतमा भेटवार्ता

काठमाण्डौं, २०७८ कात्तिक १६ गते मंगलबार । प्रधानमन्त्री शेरबहादुर देउवा र श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपाक्षेबीच द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त अधिराज्य (बेलायत) को ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६ औँ सम्मेलन (कोप-२६) अन्तर्गत दुई दिने विश्व नेताहरूको शिखर सम्मेलनमा भाग लिन आउनुभएका उहाँहरूबीच आज मङ्गलवार ‘साइड लाइन’ भेटवार्ता भएको हो ।

भेटवार्तामा उहाँहरूबीच दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने सन्दर्भमा कुराकानी भएको परराष्ट्र सचिव भरतराज पौड्यालले जानकारी दिनुभयो । दुवै देशबीच सुमधुर सम्बन्ध छ । उहाँहरूबीच शैक्षिक क्षेत्रमा सहयोग आदानप्रदान गर्ने, द्विपक्षीय संस्कृति मजबुद बनाउनेलगायत विषयमा कुरा भएको थियो ।

भेटमा श्रीलङ्काली राष्ट्रपति राजपाक्षेले लुम्बिनीमा ३० शय्याको अस्पताल स्थापना गर्ने इच्छा व्यक्त गर्नुभएको र त्यसमा नेपालको सद्भाव होस् भन्ने चाहना राख्नुभएको सचिव पौड्यालले बताउनुभयो ।

यसैगरी दुवै देशको पर्यटनका क्षेत्रमा प्रवर्द्धन गर्ने र सम्बन्ध अझ मजबुद बनाउने तथा उच्चस्तरमा संवादलाई निरन्तरता दिनेलगायतका विषयमा उहाँहरूबीच छलफल भएको थियो ।

सम्मेलनमा सहभागी हुने सिलसिलामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा यही कात्तिक १२ गते राति बेलायत पुग्नुभएको थियो । यही कात्तिक १४ गतेदेखि बेलायतकाे ग्लास्गोमा सुरु भएको कोप-२६ कात्तिक २६ गतेसम्म चल्नेछ ।

Facebook Comments