Sat. Sep 21st, 2024

२०८० सालमा सबै नेपालीको घरघरमा विद्युत् पुग्ने

फाईल फोटो

काठमाण्डौं, २०७८ भदौं १ गते मंगलबार । नेपाल विद्युत् प्राधिकरणको प्रशारण क्षमतालाई वृद्धि गरी आगामी पाँच वर्षमा ३६ सय मेगावाट पु-याउने लक्ष्य राखेको छ । दुई हजार मेगावाट क्षमतामा रहेको प्रसारण क्षमतालाई १६ सय मेगावाट वृद्धि गरी ३६ सय मेगावाटमा पु-याउने लक्ष्य राखेको कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।

मंगलबार ३६ औं वार्षिकोत्सव कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्नुहुँदै कार्यकारी निर्देशक घिसिङले प्रशारण क्षमता वृद्धि गरी विद्युतमा आत्मनिर्भर हुने पहिलो लक्ष्य रहेको बताउनभुयो ।

वि.सं. ०७८ असार २१ गते उत्पादन शुरु गरेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीले पूर्ण क्षमतामा विद्युत उत्पादन गरेसँगै यसै आगामी पाँच वर्ष भित्र १६ सय मेगावट क्षमता उत्पादन थप गर्ने लक्ष्य प्राधिकरणले लिएको छ । विद्युतमा आत्मनिर्भर गर्न विद्युत पूर्ण प्रयोग गरी भारतीय बजारमा विद्युत विक्री गर्ने गरी सम्झौतासमेत गरिसकेको उहाँले बताउनुभयो ।

विद्युतमा आत्मनिर्भर बन्न प्राधिकरणले ठुला जलाशययुक्त आयोजनाहरुमा लगानी गर्ने लक्ष्य राखेको उर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले बताउनुभयो । सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर उत्पादनमा जोड दिने र प्राधिकरणले सेवाग्राहीसँग प्रभावकारी सेवा विस्तार गरी देशकै एउटा उदाहरणीय संस्थाको रुपमा नाम राख्न सबै कर्मचारीवर्गमा उहाँले निर्देशन दिनुभयो ।

हाल १४० मेगावाटको तनहुँ, १११ मेगावाटको रसुवागडी, १०२ मेगावाटको मध्यभोटेकोशी, ४० मेगावटको राहुघाट लगायत आयोजना निर्माण क्रममा रहेको छन् । नेपालको पानी जनताको लगानी नारासहित हाल सम्भाव्यता अध्यनका क्रममा १०६० मेगावाटको अप्पर अरुण, ६३५ मेगावाटको दुधकोशी जलासय, ९५ मेगावाटको तामाकोशी पाँच र १८० मेगावटको आँधीखोला जलविद्युत आयोजनालगायत रहेको प्राधिकरणले जनाएको छ । यी आयोजनाहरु पुरा भएपछि प्रशारण क्षमतामा बृद्धि हुने प्राधिकरणले जनाएको छ ।

गत वर्ष कालिकोट,जुम्ला गरी ७४ जिल्लामा राष्ट्रिय प्रशारण लाइन पुर्याएको छ भने हुम्ला, डोल्पा लगायतमा गरी ७७ वटै जिल्लामा २०८० सालसम्ममा राष्ट्रिय प्रशारण लाइन पुर्याउने लक्ष लिएको उपनिर्देशक धर्मराज न्यौपानेले जानकारी दिनुभयो । २०७६/०७७ वृद्धि गरी ५० लाख ७८ हजार ग्राहक संख्या रहेको न्यौपानेले जानकारी दिनुभयो । हाल ९० प्रतिशत जनतामा केन्द्रीय विद्युत प्रशारणबाट आपुर्ती गराएको उहाँले बताउनुभयो ।

वितरण लाइन वलियो र प्रभावकारी बनाउने
नेपाल विद्युत प्राधिकरणले मुख्य चुनौतीको रुपमा रहेको विद्युत वितरण लाइनलाई बलियो र प्रभावकारी बनाउने मख्य लक्ष्य राखेको छ । प्राधिकरणको ३६ औँ वार्षिकोत्सवमा बोल्नुहँुदै कार्यकारी निर्देशक घिसिङले लोडसेडिङको अन्त्य भए पनि पटक पटक विद्युत काटिने समस्याले ग्राहकमा असन्तुष्टि बढेकाले प्राधिकरण प्रति विश्वास घट्दै गएकाले यसको सुधार तत्कालै गर्ने लक्ष्य राखेको बताउनुभयो ।

प्राधिकरणले रत्नपार्क-महाराजगञ्ज क्षेत्रमा भूमिगत वितरण लाइन विस्तार गरिसकेको र बाँकी सातै प्रदेशका मुख्य शहरहरुमा भूमिगत लाइन र स्मार्टमिटर जडान गर्ने योजना शुरु गरेको छ । मुख्य शहरहरुको माग र आपूर्र्तिलाई मध्यनगर गरी वितरण १३२ केभि प्रशारण लाइन विस्तार गर्ने तयारी शुरु गरेको, वितरण लाइन भूमिगतसँगै तार परिर्वतन गर्ने र गुणस्तरीय सेवा विस्तार गरी ग्राहकमा विश्वास दिलाउने लक्ष्य समेत गरेको प्राधिकरणले जनाएको छ । लामो दुरी भएर जाने केन्द्रीय प्रशारण लाइनमा दिगो पोल र तारको व्यवस्थापन गर्ने जस्ता योजना तय गरेको जनाएको छ । तिनै तहका सरकारले लिएको स्मार्ट सिटी बनाउने लक्ष्यलाई पूरा गर्न प्राधिकरणले विद्युत आपूर्तिलाई आफ्नो दायित्वको रुपमा लिएको घिसिङले बताउनुभयो ।

खुद नाफा ३ अरव ५० करोड
प्राधिकरणको नाफा अघिल्लो वर्षहरुमा भन्दा कमी भएर हाल तीन अरव ५० करोड नाफामा रहेको कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । गत वर्ष प्राधिकरणले ८० अर्व ५० करोड आम्दानी गरे मध्ये ७१ अर्व विद्युत विक्रीबाट आम्दानी गरेको जनाएको छ । नाफा रकम ठूला परियोजनामा लगानी गर्दै जाने र थप नाफा कमाउन मुख्य लक्ष्य रहेको घिसिङले जानकारी दिनुभयो ।

विसं. १९६८ मा ५०० केभिए क्षमताको फर्पिङ जलविद्युत उत्पादनसँगै नेपालमा विद्युत उत्पादनको इतिहास शुरु भएको हो । २०४२ साल भदौ १ गते विद्युत विभागबाट प्राधिकरणमा रुपान्तरण भएको थियो । त्यसताका १४४ मेगावट मात्र विद्युत उत्पादन रहेको नेपालमा प्राधिकरण स्थापनासँगै हाल दुई हजार मेगावट उत्पादन क्षमता रहेको छ । उदाहरणीय आयोजनाहरु मध्ये प्राधिकरणले कुलेखानी, मस्याङदी जलविद्युत आयोजनालगायतका जलाशययुक्त आयोजना निर्माण गरेको छ । सोलार, हावा, कोइला र पानी लगायत कैयौं स्रोत विद्युत उत्पादनको भए पनि मध्ये पानी नेपालमा प्रशस्तै रहेकाले विद्युतबाटै देशको अर्थतन्त्र धान्न सहयोग पुग्ने प्राधिकरणले जनाएको छ ।

सरकारले २०४९ मा विद्युत ऐन ल्याएपछि विद्युत क्षेत्रमा निजी क्षेत्रको समावेश भएको थियो । हाल प्राधिकरणको ६०० मेगावाट, प्राधिकरणका सहायक कम्पनीबाट ४७५ मेगावाट र निजीबाट ८२५ मेगावाट उत्पादन रहेको प्राधिकरणको तथ्याङ्क छ । जडित क्षमता बढी निजीमा बढी भए पनि हिउँदमा एक तिहाइ मात्र विद्युत उत्पादन हुने गरेकाले १२ महिना विद्युत आपूर्ति समान नहुँदा भारतबाट आयत गर्नुपरेको प्राधिकरणले जनाएको छ ।

उत्पादनदेखि वितरणसम्मको प्रणाली सुधार गरी उत्कृष्ट सेवा दिने पहिलो लक्ष्य प्राधिकरणको राखेको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो । उत्पादित विद्युत स्वदेशमै खपत गर्ने र बाँकी अन्तरदेशीय बजारमा विक्री गरिने प्राधिकरणको योजना रहेको छ । विद्युत खपत वृद्धि गर्न जनचेतनाका कार्यक्रम अघि बढाउँदै इन्धन प्रयोगलाई कमी गर्न चुल्होसम्म विद्युत प्रयोग बढाउने जनाएको छ ।

उज्यालो नेपालको सम्वाहक नारा राखेर प्राधिकरणले स्वदेशी उत्पादनबाटै विद्युतमा आत्मनिर्भर बनाएर लोडसेडिङ अन्त्य गर्नु जनाएको छ । भारतबाट विद्युत आयत गरेर लोडसेडिङ अन्त्य गर्दै आएको तितो अथार्थ तत्काल हटाउने उहाँले बताउनुभयो । यसमा माथिल्लो तामाकोशी विद्युत आयोजनाबाट छ वटै मेसिनबाट पूर्णक्षमतामा विद्युत उत्पादन शुरु गरी ४५६ मेगावाट विद्युत उत्पादन थप भए पनि सहयोग पुग्ने उहाँले बताउनुभयो । गोरखापत्र अनलाईन

Facebook Comments