Fri. Nov 15th, 2024

सरकार बधाई साटासाट गरेर बसेको तर कुनै काम नगरेको एमाले अध्यक्ष ओलीको आरोप

काठमाण्डौं, २०७८ साउन २६ गते मंगलबार । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले असामान्य तरिकाले सरकार परिवर्तन भएको बताउनुभएकाे छ । प्रतिनिधि सभामा आज मङ्गलवार सम्बाेधन गर्दै ओलीले संसारमा कतै पनि अदालतले प्रधानमन्त्री नियुक्त नगरेको दाबी गर्दै नेपालमा अदालतले परमादेशबाट प्रधानमन्त्री नियुक्त गर्नु अनौठो भएको बताउनुभयो ।

सरकारले एक महिनासम्म केही काम नगरेको र बधाई साटासाट गरेर मात्रै बसेको ओलीको आरोप छ । उहाँले सरकारले सुरुमै भूमिहीन तथा सुकुम्बासीको समस्या समाधान गर्न बनेको आयोग खारेज गरेर जनविरोधी काम गरेको र सरकारको आउँदाे यात्रा पनि प्रष्ट नै भइसकेकोे आरोप लगाउनुभयो ।

तत्कालीन माओवादीसँग राम्रो उद्देश्यले पार्टी एकीकरण गरे पनि पूर्वमाओवादी र आफ्नै दलका नेताहरूले पदका लागि पार्टी फुटाउनेदेखि सरकार ढाल्नेसम्मका काम गरेको ओलीको जिकिर छ ।

आफू जस्केलाबाट प्रधानमन्त्री यसअघि पनि नभएको र अब फेरि पनि मूलबाटो बाटै प्रधानमन्त्री बन्ने ओलीले बताउनुभयो भनि उज्यालो अनलाईनले समाचार लेखेको छ ।

Facebook Comments