Sat. Sep 21st, 2024

अफगानिस्तान युद्ध: तालिबान र सरकारबीचको लडाइँमा ३ दिनभित्र २७ जना बालबालिका मारिए

काठमाण्डौं, २०७८ साउन २६ गते मंगलबार । अफगानिस्तानमा तालिबान र सरकारी फौजबीच लडाइँ जारी रहेका बेला ३ दिनमा २७ जना बालबालिका मारिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

राष्ट्रसङ्घको बालबालिका मामिला हेर्ने निकाय युनिसेफले बालबालिकामाथि हुने हिंसामा व्यापक वृद्धिले आफू स्तब्ध भएको बताएको छ। दुई पक्षको लडाइँ जारी रहँदा कतिपय क्षेत्रबाट हजारौँ सर्वसाधारणले घर छाडेर राजधानी काबुलतर्फ गइरहेको विवरणहरू आएका छन्।

विदेशी सैनिकहरूले अफगानिस्तान छाडेपछि तालिबानले देशैभरि आफ्नो नियन्त्रण फैलाइरहेको छ। गत शुक्रवारयता उसले आधा दर्जन क्षेत्रीय राजधानीहरूमा कब्जा जमाइसकेको छ।

अन्तर्राष्ट्रिय रूपमा गरिएको युद्धविरामको आह्वानलाई तालिबानले अस्वीकार गरेको छ। त्यहाँ गत महिनाको हिंसामा मात्र एक हजार जना भन्दा बढी सर्वसाधारण मारिएका छन्।

सोमवार युनिसेफले जारी गरेको वक्तव्यमा बालबालिकामाथि हुने अत्याचार दिनैपिच्छे बढिरहेको उल्लेख छ। कान्दाहार, खोस्त र पाक्तिया प्रान्तमा मात्र २७ बालबालिका मारिएको विवरण आएको छ।

विगत तीन दिनमा ती क्षेत्रहरूमा १३६ जना भन्दा बढी बालबालिकाहरू घाइते भएको युनिसेफले जनाएको छ। “लामो समयदेखि अफगानिस्तान बालबालिकाका लागि विश्वकै सबैभन्दा खराब स्थल रहँदै आएको थियो तर पछिल्ला साताहरूमा र अझ विगत ७२ घण्टामा त त्यो खराब स्थल झन् खराब बनेको छ,” युनिसेफ अफगानिस्तानका समान्थ मोर्तले भन्नुभयो । बीबीसी

Facebook Comments