मेलम्ची बाढीका अनेक कारण, अझै जोखिमको सम्भावना
काठमाण्डौं, २०७८ साउन १८ गते सोमबार । मेलम्ची र सो वरपरका क्षेत्रमा बारम्बार आईरहेको बाढीको अनेक कारण हुन सक्ने विज्ञहरुले ठहर गरेका छन् । साथै उनीहरुले भेमाथाङको खुलाचौर र खोला आसपासको भाग सोहोरिएर बगेकोले गर्दा पनि पानी नपरेको अवस्थामा पनि बाढि आएको बताएका छन् । कान्तिपुर अनलाईनले मेलम्ची र सो वरपरका क्षेत्रमा बाढी आउनुको कारणबारे विस्तृत रुपमा आज समाचार लेखेको छ । सो अनलाईन लेख्छ-
सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा पटक-पटक बाढी आउनुमा वर्षालाई मात्र कारण मान्न नहुने विशेषज्ञहरूको प्रारम्भिक निष्कर्ष छ । करिब ३५०० मिटर उचाइको भेमाथाङको खुलाचौर र खोला आसपासको भाग सोहोरिएर बग्नुमा विभिन्न कारण (मल्टिपल कजेज) रहेको उनीहरूको ठम्याइ छ ।
भेमाथाङको खुलाचौर र खोला आसपासको भाग सोहोरिएर बग्नुमा अनेक कारण रहेको विज्ञहरुको ठम्याइ‘डोजरले नछोएको क्षेत्रमा पनि पहिरो जान सक्छ, कमसल भूबनोट भएको क्षेत्रमा थोरै वर्षाले पनि क्षति निम्त्याउन सक्छ भन्ने देखियो’
जल तथा मौसम विज्ञान विभागको पछिल्लो तथ्यांकले पनि पाण्डेको भनाइलाई पुष्टि गर्छ । विभागकी वरिष्ठ मौसमविद् इन्दिरा कँडेलका अनुसार पहिरो सुरु भएको क्षेत्रभन्दा धेरै तल अर्थात् शेर्माथाङको वर्षा मापन केन्द्रले शुक्रबार ४१.४ र शनिबार ४३.६ मिलिमिटर वर्षा रेकर्ड गरेको छ । यस्तै, इन्दावती नजिकको धाप भन्ने स्थानमा रहेको मापन केन्द्रले शुक्रबार २२.२ र शनिबार ५.६ मिमि वर्षा रेकर्ड गरेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा भने शुक्रबार ७८.२ मिमि वर्षा रेकर्ड भएको छ ।
असार पहिलो साता पनि भेमाथाङ क्षेत्रबाटै सुरु भएको भीमकाय पहिरोसँगै बगेर आएको ढुंगा, माटो, रूख, बिरुवासहितको लेदोले मेलम्ची बजारसम्मै क्षति गरेको थियो । पाण्डेले पहिरो बगेर आएको मुख्य स्रोतमै पुग्न नसकेकाले कारण यही हो भनेर यकिन गर्न नसकिने बताए । हेलिकप्टर लिएर गएको हेलम्बु गाउँपालिकाका अध्यक्षसहितको टोली प्रतिकूल मौसम र जटिल भूगोलका कारण आइतबार बिहान भेमाथाङबाट माथि जान सकेको थिएन ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को सन् २०११ को अध्ययनले मेलम्चीमाथिको हिमाली भाग (क्याचमेन्ट) मा ४ वटा हिमताल रहेको देखाएको छ । ‘तर, ती ताल फुटेको देखिन्न, सूक्ष्म अध्ययनका लागि भेमाथाङभन्दा माथिल्लो भागसम्मै पुग्नुपर्ने हुन्छ,’ पाण्डेले भने, ‘मेलम्ची खोलाको स्लोप बढ्दा भएकाले थोरै वर्षा हुँदा पनि त्यसको गति र ऊर्जा बढी हुन्छ, वर्षाले कमजोर भागलाई सोहोरेर बगाउँछ, सम्भवतः गत असार र शनिबार राति त्यही भएको हुन सक्छ ।’
पुल्चोक इन्जिनियरिङ क्याम्पससँग आबद्ध अर्का भूगर्भविद् वसन्तराज अधिकारीका अनुसार हिमाली क्षेत्रका धेरै डाँडा विगतमा हिमनदीले बगाएर ल्याएका ढुंगा, माटो र गेग्रान जमेर बनेका हुन् । ‘त्यस्तो भागमा भूकम्पले हल्लाएर क्षतविक्षत पारेपछि थोरै वर्षा हुँदा पनि पानी भित्रैसम्म गएर गलाएको हुन्छ,’ अधिकारीले सञ्चारकर्मीसँग भने, ‘त्यही भाग ढिक्कै बगेपछि तल्लो तटीय क्षेत्रमा ठूलो मात्रामा गेग्रानले बढी क्षति गरेको हो ।’
तीव्र गतिमा माथिल्लो भागबाट ढुंगा/चट्टान, माटोसहितको पहिरोले खोला आसपासको भागसमेत क्षयीकरण गरेपछि ढुंगा, माटो र गेग्रानको मात्रा बढेको उनको विश्लेषण छ । खानी तथा भूगर्भ विभागका शिव बाँस्कोटाले भने असार पहिलो साता र शनिबारको बाढीलाई भेल पहिरोको संज्ञा दिए । उनले हजारौं वर्षअघि हिमनदीले बगाएर ल्याएका ढुंगा-माटोबाट बनेको भाग भूकम्पले हल्लाएर थिलथिलो बनाएपछि पहिरोको रूप लिएको उनले बताए । भूगर्भविद्हरूका अनुसार भूकम्पले हल्लाएको भाग स्थिर हुन वर्षौं लाग्छ । ‘अग्ला डाँडाहरू पहिलेका हिमनदीले ल्याएर राखेका ढुंगा–माटोलगायतबाट बनेका हुन्,’ उनले भने, ‘अहिले त्यही भाग कमजोर भएर बगेको हुन सक्छ तर मुख्य स्रोतसम्मै अध्ययन नगरी निष्कर्षमा पुग्नुहुन्न ।’
हाइड्रोलोजिस्ट राजेन्द्र शर्माले हिमनदीले बगाएर ल्याएको ग्रेगानबाट बनेको चौर कमजोर भएर बगेपछि तल्लो तटीय क्षेत्रमा असर पुर्याएको बताए । त्यसैगरी भूगोलविद् नरेन्द्रराज खनालले अहिलेसम्म सार्वजनिक भएका भिडियो र तस्बिर हेर्दा असार पहिलो साता र शनिबार बाढी सुरु भएको स्थल (स्रोत) अझै यकिन गर्न नसकिने बताए । ‘त्योभन्दा अझै माथिबाट पहिरो सुरु भएको हुन सक्छ,’ उनले भने, ‘बीच-बीचमा भएका पुराना पहिरोमा यो वर्ष थपिएपछि ठूलो मात्रामा ढुंगा-माटो तीव्र गतिमा तलतिर बगेको देखिन्छ ।’
विपद् व्यवस्थापन प्राधिकरणका कार्यकारी अध्यक्ष अनिल पोखरेलले भेमाथाङभन्दा माथि नै पहिरोको स्रोत हुन सक्ने भएकाले अध्ययन जारी राखेको बताए । ‘स्रोत पुग्न ५-६ दिन हिँड्नुपर्ने देखिन्छ,’ उनले भने, ‘डोजरले नछोएको क्षेत्रमा पनि पहिरो जान सक्छ भन्ने प्रमाणित भएको छ, कमसल भूबनोट भएको क्षेत्रमा थोरै वर्षाले पनि क्षति निम्त्याउन सक्छ भन्ने देखियो ।’