Mon. Apr 29th, 2024

उद्योग परिसंघको अध्यक्षमा अग्रवाल

काठमाण्डौं, २०७८ साउन ७ गते बिहीबार । नेपाल उद्योग परिसंघको अध्यक्षमा विष्णुकुमार अग्रवाल निर्वाचित हुनुभएको छ । बुधबार सम्पन्न परिसंघको १८ औं वार्षिक साधारणसभाबाट अग्रवाल परिसंघको अध्यक्ष निर्वाचित हुनुभएको हो । अग्रवाल यसअघि परिसंघको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।

परिसंघका वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्थाअनुसार उहाँले नेतृत्व सम्हाल्नु भएको हो । उहाँले परिसंघअन्तर्गतको योङ इन्टरप्रेनर फोरमको नेतृत्व सम्हालिसक्नु भएको छ । उहाँसँग परिसंघको पूर्वाधार विकास समितिको सभापति भएर काम गरेको पनि अनुभव छ । नवनियुक्त अध्यक्ष अग्रवालले आफ्नो कार्यकालमा औद्योगिक वातावरण निर्माणका लागि पहल लिने बताउनु भयो ।

परिसंघको साधारणसभाले ३७ जना राष्ट्रिय परिषद् सदस्य चयन गरेको छ । त्यसमध्येबाट ७ जना उपाध्यक्ष चयन हुनेछन् । राष्ट्रिय परिषद्मा संस्थापक समूहबाट अमित मोर, रतनलाल केडिया, राहुलकुमार अग्रवाल, सन्दीपकुमार शारडा, वरुणकुमार तोडी, सुलभ अग्रवाल, अमित बेगानी, विकास दुगड, राजेशकुमार अग्रवाल, चन्द्र टण्डन, अनुज अग्रवाल, अर्पित अग्रवाल, दीपक अग्रवाल, सुरजभक्त पौडेल, निर्वाणकुमार चौधरी, विक्रम सिंघानिया, दिलीप अग्रवाल, शरदकुमार टिबडेवाला, रोहित गुप्ता र आदित्य संघाई निर्वाचित हुनुभएको छ ।

यसैगरी, प्रतिष्ठान समूहतर्फबाट हेमराज ढकाल, निकोलस पाण्डे, वीरेन्द्रराज पाण्डे, वर्षा श्रेष्ठ, लक्ष्मीप्रसाद सुवेदी, गुरुप्रसाद न्यौपाने, राजीवकुमार गुप्ता, राजबहादुर शाह, पम्फा धमला, आशिष गर्ग, द्विराज शर्मा (सिवाकोटी), अशोक शेरचन, ताराप्रसाद पौड्याल र हितेश गोल्छा चयन भएका छन् । संस्थागत सदस्य समूहतर्फबाट गोकुल भण्डारी, कृष्णप्रसाद अधिकारी र वसन्तबहादुर चन्द राष्ट्रिय परिषद् सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको छ । कान्तिपुर अनलाईन

Facebook Comments