मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना
काठमाडौं, २०७८ असार २६ गते शनिबार । देशभर मनसुनी वायुको प्रभाव रहेकाले हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनाका साथै केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भारी वर्षाका कारण पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनाका साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
हाल देशभार सामान्यदेखि पूर्ण बदली रहनाका साथै प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा बिहान घाम लागे पनि अहिले आंशिक बदली छ । उपत्यका आसपासका पहाडमा अहिले हल्का वर्षा भइरहेको छ ।
महाशाखाको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
रातिको समयमा बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाको पछिल्लो विवरणमा आज काठमाडौंको अधिकतम २८ दशमलव आठ र न्यूनतम २० दशमलव सात डिग्री सेल्सियस रहेको छ । गोरखापत्र अनलाईन