Thu. May 7th, 2026

अफगानिस्तान महिला शिक्षा : ‘तालिबानले बालिकालाई विद्यालयमा पढ्न जान दिँदैनन्’

       

काठमाडौं, २०७८ असार २० गते आईतबार । अफगानिस्तानमा साहला र अरू महिलाहरूका लागि आफ्ना छोरीहरूको शिक्षा सुनिश्चित गर्नु फेरि एउटा चुनौती बनेको छ। पहिले एक विद्यालयकी शिक्षिका रहनु भएकी साहला अहिले काबुल विश्वविद्यालयकी प्राध्यापक हनुहुन्छ ।

लकडाउनको समयमा उहाँले अनलाइनमार्फत कक्षाहरू लिनुभयो। तर उनाँका धेरै विद्यार्थीहरूले अनलाइनमा पहुँच पाउन सङ्घर्ष गर्नुपरेको उहाँ बताउनु हुन्छ ।

उहाँ अहिले भने पुस्तकहरू जम्मा गर्न थाल्नु भएको छ । साहालाले पुस्तकहरू लुकाएर राख्न थालेको यो पहिलो अवसर होइन। उहाँले गोप्य विद्यालय सञ्चालन गर्ने योजना बुनेको पनि पहिलो पटक होइन।

“मेरा अधिकांश छात्राहरूसँग स्मार्टफोन छैन। न उनीहरूको परिवारले तिनलाई इन्टरनेट चलाउन दिन्छ,” उहाँले भन्नुभयो । “परिवारका पुरुष सदस्यहरूको फोन लिएर कक्षामा सहभागी भइरहँदा कोसँग बोलिरहेको भन्दै उनीहरूको नियमित रूपमा निगरानी गरिन्थ्यो।”

तर महिलाहरूलाई प्रविधिको पहुँचको खडालले मात्रै पछाडि पारिरहेको भने छैन। अफगानिस्तानमा सरकार र तालिबान विद्रोही बीचको द्वन्द्व अहिले संवेदनशील मोडमा आइपुगेको छ।

अमेरिकी नेतृत्वका फौज फिर्ता भएसँगै धेरैले कट्टर इस्लामवादी समूह सक्रिय हुने चिन्ता गरिरहेका छन्। तालिबानले पछिल्ला महिनाहरूमा कतिपय क्षेत्रमा कब्जा जमाइसकेको छ।

चरम पितृसत्तात्मक नियमहरू लागु गरेकाले बदनामी कमाएका तालिबानहरूले विगतमा सबै महिलाहरूलाई पढ्नबाट रोक लगाएका थिए।

त्यसबाहेक उनीहरूले नजिकको पुरुष आफन्तबिना घरबाहिर निस्कन नमिल्ने पनि भनेका थिए। त्यसयता उक्त उग्रवादी समूहले आफूहरू महिला शिक्षाको विपक्षमा नरहेको बताएका छन्।

बीबीसीलाई प्रतिक्रिया दिँदै तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले भन्नुभयो, “पुरुष र महिला दुवैले शिक्षामा पहुँच प्राप्त गर्नुपर्छ र यो महत्त्वपूर्ण छ। तर महिलाहरूका लागि विशेष र सुरक्षित वातावरण तयार गरिनुपर्छ र महिला शिक्षिकाहरू खटाइनुपर्छ।”

तर महिला अधिकारको वकालत गर्ने साहला जस्ता धेरैले फेरि महिला शिक्षामा पूर्ण बन्देज लाग्न सक्ने चिन्ता व्यक्त गरेका छन्। ६० वर्षकी साहला तालिबानले सन् १९९० को दशकको अन्त्यमा देशलाई नियन्त्रणमा लिएको समयमा आफूले छात्राहरूका लागि गोप्य विद्यालय स्थापना गरेको सम्झना गनुहुन्छ ।

नौदेखि दश वर्षका उहाँका विद्यार्थीहरू त्यो बेला निलो रङ्गको परम्परागत बुर्का लगाएर आउने गर्थे। शिक्षाको विरोध गर्नेलाई सुइँको नहोस् भनेर उहाँले तीनलाई अङ्ग्रेजी भाषाका पाठ्यसामग्रीहरू इस्लामिक पुस्तकका गाताभित्र लुकाएर ल्याउन लगाउँनु हुन्थ्यो। बिबिसी

Facebook Comments

सम्बन्धित समाचार